काठमाडौं— साताको दोस्रो दिन शेयर बजार परिसूचक घट्ने क्रम रोकिएन। परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।
सोमबार ६.२६ अंकले घट्दै परिसूचक २०१२.०७ विन्दुमा रह्यो। यसअघि आइतबार १७.३० अंकले घट्दै परिसूचक २०१८.३३ विन्दुमा थियो।
१३ मध्ये होटल तथा पर्यटक र व्यापार बाहेकका सबै उपसमूह घटेका छन्। सर्वाधिक घट्नेमा फाइनान्स उपसमूह छ। आइतबार निर्जीवन बिमा बाहेक सबै परिसूचक घटेका थिए। आज १५२ कम्पनीको शेयर मूल्य घटेको छ भने ८६ को मात्रै बढोत्तरी छ । ८ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन।
७२ लाख ९० हजार २०० कित्ता शेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ८७ करोड ७४ लाख ७५ हजार रुपैयाँ छ। हिजो कारोबार रकम ३ अर्ब २० करोड ५३ लाख ३२ हजार रुपैयाँ थियो।
घटेको बजारमा पनि गुराँस लघुवित्त र मायाखोला हाइड्रोपावरको शेयरमा भने बढोत्तरीको सकारात्मक सर्किट लागेको छ। महुली लघुवित्तको पनि शेयर मूल्य बढ्दा लगानीकर्ता फाइदामा छन्।
सर्वोत्तम सिमेन्टको शेयर आज उच्च कारोबार भएको छ। शेयर मूल्य प्रतिकित्ता ९४१ रुपैयाँ पुगेको यो कम्पनीको ४७ करोड २९ लाख १७ हजार रुपैयाँको किनबेच भएको छ। हिजो शेयर मूल्य प्रति कित्ता ९७४ रुपैयाँ ५० पैसा रहँदा पनि यो कम्पनी सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा नै पहिलो नम्बरमा थियो। हिजो सर्वोत्तमको २८ करोड ६८ लाख रुपैयाँको कारोबार भएको थियो।
यस्तै शिवम् सिमेन्टको ११ करोड, गोर्खाज फाइनान्सको ९ करोड ९९ लाख, पिपुल्स पावरको ५ करोड ७९ लाख र मायाखोला हाइड्रोपावरको ५ करोड ६० लाख रुपैयाँको शेयर किनबेच भएको छ।
आज घट्नेमा रिभर फल्सको सेयर पहिलो नम्बरमा छ। शेयर मूल्य घट्ने कम्पनीहरूमा हिमालयन हाइड्रोपावर, अपर लोहोरेखोला, धौलागिरी लघुवित्तलगायत छन्।