काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे अनुगमन गरी आवश्यक कारबाही गर्न निर्देशन दिएका छन्।
सिंहदरबारमा आइतबार आयोजित राजस्व वृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी बैठकमा उनले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूलाई गम्भीर अनुगमन गरि एक्सन लिन निर्देशन दिएका हुन्।
उनले भने, ‘राजस्व चुहावट र अवैध व्यापारिक कारोबारमा हुने सेटिङ भत्काउने कार्यलाई प्राथमिकता दिनुहोस्। झुटा तथा नक्कली बिलबिजक र स्टिकरको प्रयोग भइरहेको सूचना आएको छ। त्यसको गम्भीर अनुगमन गर्नुस् र एक्सन लिनुस्।’
नयाँ गतिका साथ काम गर्ने अठोट लिएर सरकार पुनर्गठन गरिएको बताउँदै सोहीअनुरूप क्रियाशील हुन उनले निर्देशन दिए।
मुलुकमा समृद्धिको बाधकका रुपमा रहेको भ्रष्टाचार, तस्करी र राजस्व छलीलाई निर्ममतापूर्वक हटाएर जनतामा पैदा गरिएको निराशालाई चिर्नुपर्ने उनले बताए।
उनले भने, ‘सरकारले नयाँ गतिका साथ काम गर्ने अठोट लिएको छ। मुलुकको समृद्धिको बाधकका रूपमा रहेका भ्रष्टाचार, तस्करी र राजस्व छलीलाई निर्ममतापूर्वक हटाउनै पर्छ। जनतामा पैदा गरिएको निराशालाई चिर्नु पर्दछ। यसका लागि विगतका परम्परागत प्रशासनिक कार्यशैली, व्यवहार र चिन्तनबाट सम्भव छैन। नयाँ सोच सहित अगाडि बढौँ।’