काठमाडौं— साताको पहिलो दिन शेयर बजार परिसूचक घटेको छ।
आइतबार १७.३० अंकले घट्दै परिसूचक २०१८.३३ विन्दुमा रह्यो। १३ मध्ये निर्जीवन बीमा बाहेक सबै परिसूचक घट्दा शेयर सूचकमा असर परेको हो।
सर्वाधिक गिरावट उत्पादन तथा प्रशोधन उपसमूहका कम्पनीको शेयर छ। आज १७२ कम्पनीको शेयर मूल्य घटेको छ भने ६३ को मात्रै बढोत्तरी छ। १० कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन ।
७९ लाख ५७ हजार ६५९ कित्ता शेयर ३ अर्ब २० करोड ५३ लाख ३२ हजार रुपैयाँमा किनबेच भएको छ।
घटेको बजारमा पनि मायाखोला हाइड्रोपावरका लगानीकर्ता भने अस्वाभाविक रुपमा फाइदामा रहे। उक्त कम्पनीको शेयर मूल्यमा बढोत्तरीको सकारात्मक सर्किट लागेको छ।
लगातार बढोत्तरीको सर्किट लाग्दै आएको सर्वोत्तम सिमेन्टको शेयर आज भने घट्नेमा शीर्षस्थानमा रह्यो। घटे पनि शेयर मूल्य प्रति कित्ता ९७४ रुपैयाँ ५० पैसा छ। सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा सर्वोत्तम नै पहिलो नम्बरमा छ। उक्त कम्पनीको शेयर २८ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ। यस्तै गोर्खाज फाइनान्सको १२ करोड ५६ लाख, शिवम् सिमेन्टको ११ करोड ५५ लाख, हाथवे इन्भेष्टमेन्टको ९ करोड ५८ लाखको शेयर किनबेच भएको छ।
आज घट्नेमा सर्वोत्तमपछि बोटलर्स बालाजु, सीवाइसी लघुवित्त, थ्रीस्टार हाइड्रोपावर, किसान लघुवित्तलगायत छन् ।