News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
दुर्गा प्रसाईले बोकेको हतियार छानबिन गर्न समिति गठन

काठमाडौं— सरकारले दुर्गा प्रसाईले बोकेको हतियार छानबिन गर्न समिति गठन गरेको छ। गृहमन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डे नेतृत्वको चार सदस्यीय छानबिन समिति गठन भएको छ। 

गृहमन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट चार सदस्यीय छानबिन समिति गठन गरेको हो।

समितिमा गृहमन्त्रालयकै उपसचिव (कानून) ऋषि पौडेल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक सन्तोष भट्टराई सदस्य छन्। छानबिन समितिको सदस्य सचिवका रुपमा गृहमन्त्रालयका उपसचिव एकदेव अधिकारी रहेका छन्। 

Prabhu Bank

समितिलाई १५ दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ। 

समितिले जिल्ला प्रशासन कार्यालय झापाबाट २०७५ असार २१ गते प्रसाईको नाममा इजाजतपत्र भएको हतियारबारे छानबिन गरी दोषीलाई कारबाहीको सिफारिस गर्ने पहिलो कार्यादेश छ। 

त्यस्तै व्यक्तिगत रुपमा इजाजतपत्र प्राप्त गरेका हातहतियारको प्रयोगबारे मापदण्ड निर्धारण गर्ने कार्यादेश दिइएको छ। 

हातहतियार नवीकरण बारे भएको कानूनी व्यवस्था र अभ्यासको विश्लेषण गरी हातहतियार खरखजाना सम्बन्धी ऐन र त्यससँग सम्बन्धित प्रचलित कानूनमा गर्नुपर्ने सुधारका विषय पहिचान गर्ने गरी समितिलाई कार्यादेश दिइएको छ। 

त्यस्तै इजाजत प्राप्त हातहतियार खरखजानाको दुरुपयोग रोक्न, त्यसको अनुगमन, नियमन र नियन्त्रणका व्यवस्थाको अभ्यास समीक्षा गरी नियमनको उचित ढाँचा बनाइ पेस गर्न सुझाइएको छ। 

यसअघि चैत १३ गते दुर्गा प्रसाईँले पाएको हतियारको इजाजतको अनुमति कानुनसम्मत नभएको भन्दै छानबिन गर्न सर्वोच्च अदालतले गृह मन्त्रालयका नाममा आदेश दिएको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १०:००
Weather Update