News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
फ्लुसँगै कोरोना संक्रमण पनि बढ्न थाल्यो, सावधानी अपनाउन विज्ञको सुझाव

काठमाडौं— कोरोना संक्रमण पुनः बढ्न थालेको छ। पछिल्लो एक हप्तायता मात्रै काठमाडौं उपत्यकामा दर्जन बढीमा संक्रमण देखिएको छ। अस्पतालमा पुग्ने र भर्ना गरेर उपचार गर्नुपर्ने बिरामी बढ्न थालेका छन्। 

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गत एक हप्तामा मात्रै १० जना कोभिड संक्रमणका बिरामी भर्ना भएर उपचार गएका थिए। अहिले पनि टेकु अस्पतालको आईसीयूमा दुईजना सङ्क्रमितको उपचार भइरहेको छ। अस्पतालका निर्देशक डा युवानिधि बसौलाले भने‚ ‘गत एक हप्तामा १० जना जति कोभिड संक्रमित भर्ना भएर उपचार गराउनुभयो। अहिले पनि हाम्रोमा २ जना सङ्क्रमितको आईसीयूमा राखेर उपचार भइरहेको छ।’

Prabhu Bank

घाँटी दुख्ने, नाकबाट पानी बग्ने, आलस्य हुने, शरीर दुख्ने ,जाडो महसुस हुने, कडा खालको रुघाखोकी, ज्वरोको समस्या देखिएपछि एक हप्तासम्म पनि घरमा आराम गर्दा सन्चो नभएपछि अस्पताल पुगेका बिरामीको पीसीआर परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएको र संक्रमण देखिएपछि छातीको एक्सरे गर्दा निमोनिया समेत भएको पाइएको हुँदा यस्ता बिरामीलाई भर्ना गरेर उपचार गरिएको समेत निर्देशक डा बसौलाले बताए। 

५० वर्षमाथिका दम खोकीको समस्या भएकामा जाँच गर्दा कोभिड देखिएको बताए। उनले कुन भेरियन्ट हो भनेर हालसम्म परीक्षण नगरिएको हुँदा नयाँ भेरियन्ट हो कि पुरानै भेरियन्ट हो भनेर पुष्टि भने नभएको उनले बताए।

‘कडा खालका इन्फ्लुएन्जा’ भाइरस (फ्लु) का लक्षण लिएर अस्पताल आउने संख्या अहिले बढ्दो छ। यसरी आउनेमा केहीमा श्वासप्रश्वासको समस्या पनि देखिएपछि पीसीआर परीक्षण गर्दा कोभिड पुष्टि भएको हो। कोभिड पुष्टि भएकाहरूलाई हामीले अस्पतालमै राखेर उपचार गरेका छौँ। हाम्रो अस्पतालमा मात्रै होइन उपत्यका अन्य अस्पतालहरूले पनि कोभिड पोजेटिभ आएपछि हाम्रोमा रिफर गर्न थाल्नु भएको छ,’ डा बसौलाले भने। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइमा पनि पछिल्ला दिनमा कोभिड संक्रमित भेटिन थालेका छन्। पछिल्लो समय कोभिड १९ मत्थर हुँदै जाँदा कोभिडविरुद्धको खोप लगाउने, सावधानी अपनाउने कार्यमासमेत आम नागरिकले बेवास्ता गरेका छन्। जसले गर्दा मौसम परिवर्तन हुने यो समयमा फ्लूसँगै कोभिड संक्रमण बढ्न थालेको हो।

कोभिड संक्रमण पनि रैथाने संक्रमण जस्तै समुदायमा रहेको हुँदा मास्क लगाउने तथा अन्य जनस्वास्थ्यका मापदण्ड पालना गरिरहनुपर्ने विज्ञहरूले बताउँदै आएका छन्। कोभिड संक्रमण मत्थर हुँदै गए पनि स्वास्थ्य सेवा विभागले आगामी वैशाखभित्र कोभिडविरुद्धको थप १६ लाख मात्रा फाइजर खोप ल्याउने तयारी गरेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १६:१४
sagarmatha cementsagarmatha cement
Weather Update