News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

इलामको सन्दकपुर गाउँपालिका रहेका २६ सामुदायिक वन क्षेत्रलाई आफ्नो वासस्थान बनाएको विश्वकै दुर्लभ र आकर्षक वन्यजन्तु रेड पाण्डा पर्यटकको मुख्य आकर्षक बन्दै गएको छ। वन्यजन्तु र चराहरूको दृश्यावलोकनमा रमाउन विश्वका विभिन्न देशबाट पर्यटकहरू यहाँ आइरहेका छन्।

सन्दकपुरको आहालभञ्ज्याङदेखि अधिकारीबाससम्म रेड पाण्डाको चरिचरन र बासस्थान क्षेत्र हो। उक्त क्षेत्रमा हिजोआज पर्यटकको बाक्लो उपस्थिति देख्न सकिन्छ। फोटोग्राफीमा रमाउनेको संख्या उत्तिकै छ। समुद्र सतहबाट दुई हजार मिटरमाथिको क्षेत्र रेड पाण्डाको चरन क्षेत्र हो। 

विश्वमा लोपोन्मुख सूचीमा सूचीकृत रेड पाण्डाको अवलोकन कै लागि देश विदेशका पर्यटकहरू सन्दकपुर गाउँपालिका भित्रका जङ्गलमा घुम्ने गरेका छन्। रेड पाण्डालाई स्थानीय भाषामा पूँडेकुदो, हाब्रे भनिन्छ। घाँस दाउरा गर्दा भेटिने रेड पाण्डाको महत्व बुझेसँगै स्थानीय रेड पाण्डाको संरक्षणमा जुटेका छन्। 

हेर्दै आकर्षक देखिने लजालु स्वभावको रेड पाण्डा सोझो, हलुका रातो, सेतो र कालो रङ्गको हुन्छ। रुखको काप र खपटामा बस्ने रेड पाण्डाको आहारा मालिङ्गोको पात र टुसा हो। पर्यटकलाई रेड पाण्डा देखाउन रेड पाण्डाको दिसा, हिँड्दा बन्ने डोब, मोहोडाका आधारमा वासस्थान पत्ता लगाइन्छ।

रेड पाण्डा ९३ देखि एक सय १० सेन्टिमिटर हुन्छ। तीनदेखि ६ केजीसम्मको तौल हुने पाण्डा नेपाल भारत, भुटान, चीन र म्यानमारमा मात्र पाइन्छ। दुर्लभ र संकटापन्न सूचीमा सूचिकृत रेड पाण्डा नेपालका २३ जिल्लामा पाइने गरेपनि धेरै पर्यटक तान्नेमा इलामको सन्दकपुर गाउँपालिका हो।   

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १२:४३
sagarmatha cementsagarmatha cement
Weather Update