
काठमाडौं— विस्तारको काम सुरु गरिए पनि चीनको बेवास्ताका कारण अलपत्र परेको काठमाडौंको चक्रपथमा राखिएका बोर्डहरु चोरिएको भन्दै काठमाडौं महानगरपालिकाले प्रहरीलाई पत्राचार गरेको छ।
काठमाडौं महानगरपालिकाको प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्र लेख्दै बोर्डहरु चोरीको घटनामा अनुसन्धान गरि दोषीलाई कारबाही गर्न माग गरेका छन्।
चक्रपथ विस्तारको काम अलपत्र परेको अवस्थामा ब्यापक जनगुनासो आएपछि सर्वसाधारणलाई सुसूचित गराउने उद्देश्यले काठमाडौंको कलंकीदेखि महाराजगञ्जसम्म ९ थानमा बोर्ड राखिएकोमा सबै बोर्डहरु चोरी भएको महानगरले जनाएको छ।

फलामको स्ट्यान्डमा अडाएर राखिएको बोर्डहरुमा चक्रपथ सुधार आयोजना सुरु भएको समयदेखि सम्पन्न हुनुपर्ने विवरणहरु उल्लेख गरिएको थियो। विस्तार भइसक्नुपर्ने चक्रपथको काम अलपत्र पर्नुमा नेपाल सरकार र चीनको साङ्घाइ कन्स्ट्रक्सन कम्पनी जिम्मेवार रहेको पनि बोर्डमा उल्लेख गरिएको थियो। बोर्डमा उक्त आयोजना काठमाडौं महानगरपालिकाको मातहतमा नरहेको भनेर पनि उल्लेख गरिएको थियो।
उक्त बोर्डहरु राखिएकोप्रति सडक विभागले भने आपत्ति जनाएको थियो। चक्रपथ सुधार आयोजना अलपत्र परेको सम्बन्धमा न्यूजगृहले चैत ५ गते प्रकाशित गरेको समाचारका लागि रिपोर्टिङ गर्ने क्रममा सडकमा राखिएका बोर्डहरुबारे सडक विभागका अधिकारीसँग जिज्ञासा राखिएको थियो।
न्यूजगृहको प्रश्नमा सडक विभागअन्तर्गतको काठमाडौं चक्रपथ सुधार योजनाका प्रमुख, सिनियर डिभिजनल इन्जिनियर कृष्णनाथ ओझाले बोर्डहरु गैरकानुनी रुपमा राखिएको र त्यस्ता बोर्डहरु हटाउन निर्देश गरिने बताएका थिए। ओझाले बोर्डमा लेखिएका विषयहरु पनि गलत जानकारी दिने खालका रहेको बताएका थिए।
दोस्रो चरणको परियोजनाअन्तर्गत कलंकीदेखि महाराजगञ्ज (बसुन्धारा पुल)सम्म ८.२ किलोमिटर सडक विस्तारका लागि २०७४ सालदेखि नै साइट क्लियर (जमिन खाली गराउने) काम अगाडि बढेको थियो। साइट क्लियर भइसकेको छ। तर सडक निर्माणको काम भने अलपत्र छ।
चक्रपथ सुधार परियोजनाअन्तर्गत पहिलो चरणमा (कोटेश्वरदेखि कलंकीसम्म) १० किलोमिटर सडक विस्तार गरेपछि चीन सरकारले दोस्रो चरणको विस्तारका लागि पनि सहमति जनाएको थियो। जसका लागि नेपाल सरकार र चीनबीच सन् २०१८ को जनवरी १७ तारिख (२०७४ माघ ३ गते) द्विपक्षीय समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको थियो।
एमओयूमा उल्लेख गरिएको सर्तअनुसार नेपाल सरकारले साइट क्लियर गरी मुख्य सडकभन्दा बाहिर, सर्भिस लेन निर्माणको काम पनि सुरु गरिसकेको छ। मुख्य ८ लेन सडक बनाउने भनेको चीनले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत बनाएको छैन। चीनको बेवास्ताका कारण चक्रपथ विस्तारको दोस्रो चरणको काम अहिले अलपत्र छ।













