काठमाडौं— ४ दिन लामो बिदापछि खुलेको शेयर बजार सोमबार दोहोरो अंकले घटेको छ। सोमबार शेयर बजार परिसूचक (नेप्से) १७.०१ अंकले घट्दै २०३१.५५ विन्दुमा झरेको छ।
कारोबार रकम २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँमा सीमित भएको छ। गत साताको अन्तिम दिन ४ अर्ब ३१ करोडको कारोबार भएको थियो।
सोमबार ३७ कम्पनीको शेयरमूल्य बढेको छ भने २०४ कम्पनीको घटेको छ। ३ कम्पनीको शेयरमूल्य स्थिर रह्यो। लगानीकर्तालाई फागु पर्वको बिदाबारे अन्योल भएर पनि कारोबार घटेको अनुमान छ। पहाडी जिल्लामा आइतबार होली पर्व थियो भने सोमबार तराईका जिल्ला होलीको बिदा छ।
घटेको बजारमा पनि बोटलर्स नेपाल बालाजुको शेयरमा पोजेटिभ सर्किट लागेको छ। सर्वोत्तम सिमेन्टको शेयरमा लगातार चौथो दिन पोजेटिम सर्किट लाग्यो। बोटलर्सको शेयर प्रतिकित्ता १६६१ पुगेको छ भने सर्वोत्तमको ८१३ रुपैयाँ पुगेको छ। बढेका अन्य कम्पनीमा धौलागिरी लघुवित्त र तारागाउँ सिजेन्सी होटल छन्।
सोमबार सर्वाधिक कारोबार हुनेमा गुर्खाज फाइनान्स छ। उक्त कम्पनीको २८ करोड ९० लाखको शेयर किनबेच भएको छ। यस्तै, शिवम् सिमेन्टको १३ करोड ७८ लाख र सोनापुर मिनरल्सको ८ करोड १३ लाखको शेयर कारोबार भएको छ।
१३ उमसमूहमध्ये सोमबार होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र व्यापारबाहेकका सबै कम्पनीको सूचक घटेका छ। सर्वाधिक घटेकाको सूचीमा किसान लघुवित्त पहिलो नम्बरमा छ। किसानका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन्। बुद्धभूमि नेपाल हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त, युनिक नेपाल लघुवित्तलगायत घटेका छन्।