ललितपुर— होली खेल्नेक्रममा भएको झडपमा संलग्न भएको आशंकामा १८ जना पक्राउ परेका छन्। उनीहरूमाथि अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार झडपलगत्तै परिचालित प्रहरीले घटनास्थल वरपर रहेका र घटनामा संलग्न भएको आशंका गरिएका १८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।
ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गएराति भएको झडपमा दुईजनाको ज्यान गएको छ।
राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको सुवेदी जानकारी दिए। ‘राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भयो । तत्कालै घटनास्थलमा खटिएर केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ । घटनाको कारण खुल्न सकेको छैन’, उनले भने।
मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेको प्रवक्ता सुवेदीले बताए।
मृतकको शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ।