सुनकोशीमा बेपत्ता बालबालिकाको खोजी जारी, गोताखोर परिचालन

उदयपुर— सुनकोशी नदीमा बेपत्ता तीन बालबालिकाको खोजी जारी छ।
उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका तीन बालबालिका होली खेलेर नुहाउनेक्रममा नदीमा डुबेका थिए।
बालबालिका नदीमा बेपत्ता भएको खबर सुने लगत्तै खोजी कार्य जारी राखिएको छ। आइतबार साँझसम्म बेपत्ता बालबालिका फेला नपरेपछि सोमबार (आज)बिहानैदेखि गोताखोरसहितको टोलीले खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी हरिनन्दन चौधरीले जानकारी दिए।
अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली गोताखोरसहित परिचालित छ।
पाँच जना नुहाउन गएका बालबालिका मध्ये तीन जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा त्रियुगा –१४ साउनेका ११ वर्षीया बालिका रेखा मगर, सोही स्थानका बालकद्वय ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर छन् ।
प्रकाशित मिति: सोमबार, चैत १२, २०८० ०८:५५













