-1711264329.jpg)
काठमाडौं— रंगहरुको पर्व होली आज (आइतबार) हिमाली तथा पहाडी जिल्लामा मनाइँदैछ। यस्तै, तराईंका जिल्लामा सोमबार होली मनाइनेछ। विभिन्न रंगहरुले रंगिएर रमाइलो गर्दै होली मनाउँदा स्वास्थ्यको पनि ख्याल राख्नु जरुरी हुन्छ। खास गरेर रंगहरुले छालामा पुर्याउने असरबारे सचेत हुन जरुरी हुन्छ। रंगमा हुने केमिकलले छालासँगै आँखामा पनि नराम्रो असर पार्न सक्छ।
होलीमा हामीले लगाउने रंगहरु खास गरेर ३ प्रकारका हुन्छन्। एउटा रंग पेस्टमा आउँछ, अर्को धूलो र अर्को रंग पानीमा मिलाएर लाउने खालको हुन्छ। पेस्टका रुपमा उपलब्ध हुने रंगमा विभिन्न रसायन हुन्छ, जसले छालासँगै आँखा र मिर्गौलामा समेत गम्भीर असर पार्छ।
धूलो रंग पनि स्वास्थ्यका दृष्टिकोणले जोखिमयुक्त हुन्छ। धूलो रंगमा मेटलहरु मिसाइएको हुन्छ।। यस्तै, काँचको टुक्रा, सिलिकन पनि धूलो रंगमा मिसाइएको हुन्छ। यस्तो रंगले पनि छालाका साथै मिर्गौला, कलेजो तथा आँखामा असर गर्छ। यस्ता रंगले शरीरमा दीर्घकालीन असर पार्छ। खासगरी बच्चाहरुलाई बढी असर गर्छ। चिकित्सकहरुका अनुसार रंगमा मिसिएका रसायनका कारण दम बढ्ने, मिर्गौला फेल हुने र क्यान्सरसम्म हुने खतरा हुन्छ।
पानीमा मिसाएर लगाउने रंग पनि प्राकृतिक र कृत्रिम हुन्छन्।होलीका बेला बजारमा उपलब्ध हुने अधिकांश रंग कृत्रिम छन्। यस्ता रंगमा धेरै मात्रामा रसायन हुने भएकाले मानव स्वास्थ्यसँगै वातावरणमा पनि असर पर्छ। यी रंगले छालामा मात्र नभइ कपाल र नङहरुमा पनि असर पार्छन्। यस्तो रंगले छाला पोल्ने, दुख्ने, चिलाउने र सुन्निने हुन्छ। यस्ता रंगहरुको असरले कपाल सुख्खा हुने र झर्ने समस्या पनि हुन्छ।
रंगअनुसार यसमा मिसाइने रसायन पनि फरक हुन्छ। रातो रंगमा ‘मर्करी सल्फाइड’ नामक रसायन हुन्छ। कालोमा ‘लिड अक्साइड’, हरियोमा ‘कपर सल्फाइड’ रसायन हुन्छ। यस्तै, अन्य रंगमा पनि मानव स्वास्थ्यमा असर गर्ने रसायनहरु हुन्छन्। यी रंगले नरम छाला भएका बच्चा र गर्भवतीलाई बढी असर पुर्याउँछ। गर्भवती महिलाको छालाभित्र रंग पस्यो भने बच्चा तुहिने, कम तौलको बच्चा जन्मने खतरा पनि हुन सक्छ। त्यसैले सकेसम्म टल्कने र चम्कने खालका रंग प्रयोग गर्नु नहुने चिकित्सकको सल्ला छ।
संगहरुमा रंगिएर रमाउँदै होली मनाउँदा केही सावधानी अपनाइयो भने रंगले स्वास्थ्यमा पार्ने असरबाट केही हदसम्म बच्न सकिन्छ। जस्तै, होली खेल्नु अघि र खेलिसकेपछि पनि कपालमा धेरै तेल लगाउने र कपाल राम्ररी बाँध्ने गर्नुपर्छ। मुखमा मोस्चराइजर तथा सन्स्क्रिन क्रिम लगाउनाले पनि रंगको असरबाट बच्न सकिन्छ।
यस्तै, एकपटक रंग लगायो भने जतिसक्दा चाँडो उक्त रंग पखाल्ने वा सफा गर्ने गर्नुपर्छ। होली खेलिसकेपछि रंग निकाल्न छालामा बेस्सरी रगड्नु हुँदैन। रंग खेल्नुअघि नै शरीरमा तेल लगाएर जानु उपयुक्त हुन्छ, जसले गर्दा रसायनले छालामा असर गर्न पाउँदैन र रंग छिटो निकाल्न पनि सहयोग गर्छ।
रंग पखाल्नलाई साबुनको प्रयोग गर्नुपर्छ। छाला चिलाउन वा पोल्न थाल्यो र आँखामा रंग पस्यो भने चिकित्सकको सल्लाह लिनुपर्छ।
रंगहरुमा हुने कतिपय केमिकलले नङ पाक्न पनि सक्छ। त्यसैले नेल पोलिस लगाउनुपर्छ। नुहाइसकेपछि पनि मोस्चराइज क्रिम लगाउनुपर्छ।