News Griha :: न्यूजगृह
सुन तस्करी प्रकरण: महराको बयान सकियो, पुन: अस्पताल मै भर्ना

काठमाडौं— सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिने काम सकिएको छ।

बुधबारदेखि सुरु भएको बयान लिने कार्य बिहीबार सकिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिए। बयान सकिएसँगै उनलाई पुन: नर्भिक अस्पतालमै भर्ना गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जानकारी दिएको छ।

कमजोर स्वास्थ्य अवस्थाका कारण उनलाई अदालतले नै अस्पतालमा राख्न भनेको थियो। चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ परेका महरामाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई चार दिनको म्याद दिएको छ । म्याद थपका लागि महरालाई भोलि अदालतमा उपस्थित गराइने सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

गत साउन २ गते ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएकाले अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो। 

अघिल्लो पटक सीआईबीले महरालाई बयान कागज गराएर छाडेको थियो। सोही प्रकरणमा महराका छोरा राहुल हाल पुर्पक्षका लागि थुनामा छन्।

 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  २१:३०
Weather Update