
काठमाडौं— सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महराको बयान सकिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसन्धान अधिकृतले सरकारी वकिलको रोहबरमा २ दिन लगाएर महराको बयान ‘रेकर्ड’ गरेका हुन्।
बयानका क्रममा महराले सुन तस्करीमा संलग्नता देखिएका चिनियाँ नागरिक दाओजिन वाङसँग आफ्नो चिनजान रहेको विषय स्वीकार गरेका छन्। तर सुन तस्करीको कारोबारमा आफ्नो कुनै संलग्नता नरहेको महराको जिकिर छ।
सीआईबी स्रोतले महराको बयान उद्धृत गर्दै भन्यो, ‘दाओजिन वाङ भन्ने चिनियाँ नागरिकसँग मेरो सामान्य चिनजान हो। कुनै पनि प्रकारको कारोबार भएको होइन। राजनीति गर्ने मानिस भएका कारण धेरै मानिससँग फोन सम्पर्क, कुराकानी भएको हुनसक्छ। तर सुनका विषयमा कसैसँग कुनै पनि कुराकानी, कारोबार गरेको छैन।’
स्रोतका अनुसार बयानका क्रममा महरा भक्कानिएका थिए। भेपमा लुकाएर भएको सुन तस्करीबारे प्रश्न सोध्न सुरु गरेपछि महरा भक्कानिएका थिए। अनुसन्धान अधिकृतहरुले ‘स्थिति सहज’ बनाउँदै कुराकानी गरेपछि महराले संक्षिप्त बयान दिएका थिए।
सीआईबीका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले महराको बयान सकिएको जानकारी दिए। ‘महराको बयान सक्कियो। अब प्रतिवेदन तयार पारेर सरकारी वकिललाई बुझाइन्छ।’
सुन तस्करी प्रकरणको अनुसन्धानका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले मुद्दा चलाउन सिफारिस गरेपछि महरालाई सोमबार पक्राउ गरिएको थियो। कपिलवस्तबाट पक्राउ परेका महरालाई सोमबार नै काठमाडौं ल्याएर अदालतमा उपस्थित गराइएको थियो।
अदालतमा उनले आफ्नो स्वास्थ्यावस्था नाजुक रहेको भन्दै अस्पताल बस्ने अनुमति मागेका थिए। काठमाडौं जिल्ला अदालतले उनलाई अस्पतालमा राखेर अनुसन्धानको व्यवस्था मिलाउन निर्देशन दिएको थियो। अदालतको आदेशपछि महरा नर्भिक अस्पताल भर्ना भएका थिए।
सीआईबीका अनुसन्धान अधिकारीहरुले अस्पताल भर्ना भएकै दिन महरासँग सोधपुछ गरेका थिए। सुरुवाती चरणमा महराले बोल्न नै मानेका थिएनन्। बुधबारदेखि सरकारी वकिलको रोहबरमा उनको बयान लिन थालिएको थियो।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष महरा नेपालमा चिनियाँ नागरिकको संलग्नतामा भएको सुन तस्करीमा संलग्न रहेको विषय यसअघि नै सार्वजनिक भएको थियो। विद्युतीय चुरोट (भेप) तथा मोटरसाइकलो ब्रेकप्याडमा लुकाएर भएको सुन तस्करीमा संलग्न रहेका चिनियाँहरुसँग महराको पटक–पटक सम्पर्क भएको देखिएको थियो। उक्त तस्करीको अनुसन्धानका क्रममा सीआईबीले पहिले पनि महराको बयान लिएको थियो। बयानका क्रममा महराले सुन तस्करीमा संलग्न चिनियाँहरुलाई आफूले फलफूल व्यापारीका रुपमा मात्रै चिनेको बताएका थिए।
सीआईबीले बयान लिए पनि उनलाई अभियुक्त भने बनाएको थिएन। यद्यपि उच्चस्तरीय जाँचबुझ आयोगले उनीमाथि मुद्दा चलाउन सिफारिस गरेपछि पक्राउ गरेर पुन: अनुसन्धान सुरु गरिएको हो।