News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
एआईले बताउन सक्छ कुन मानिस कहिले मर्छ भनेर!

डेनमार्कका वैज्ञानिक करोडौं मानिसको डाटा (विवरण) संकलन गरिरहेका छन्। यसरी संकलन गरिएको डाटाको मद्दतबाट आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को एउटा मोड्युलले कुन मानिस कति वर्षसम्म बाँच्न सक्छ भन्ने कुरा पत्ता लगाउने छ। यद्यपि वैज्ञानिकहरुले यो परियोजनाको मुख्य उद्देश्य मानिसहरुलाई प्रविधिको क्षमता र खतराको बारेमा जागरुक गराउनु रहेको बताएका छन्। 

लाइफ–२–भेक (life2vec) नामक प्रोग्रामका वैज्ञानिकहरु यो परियोजनाको कुनै नराम्रो उद्देश्य नभएको दाबी गर्छन्, बरु उनीहरु आफैं विकास हुने कम्प्युटर प्रोग्रामहरुको प्याटर्नको गहिराइबारे बुझ्न चाहन्छन्। यी वैज्ञानिकहरु जान्न चाहन्छन् कि के यो प्रोग्रामहरुले स्वास्थ्य तथा सामाजिक घटनाको पूर्वानुमान लगाउन सक्छन्? 

अपार छ सम्भावना? 
यो शोधको एउटा रिपोर्ट ‘नेचर कम्प्युटेशनल साइन्स’मा प्रकाशित भएको छ। डेनमार्क टेक्निकल युनिभर्सिटीका प्रोफेसर जुने लेहमान भन्छन्, ‘मानव जीवनका बारेमा भविष्यवाणीका लागि यो एउटा सामान्य संरचना हो।’

Prabhu Bank

मानव जीवनको भविष्यवाणीका लागि हुने अनुसन्धानको सम्भावना भने अपार रहेको लेहमानको बुझाइ छ। उनी भन्छन्, ‘यदि तपाईंसँग ट्रेनिङ डाटा छ भने यसबाट कुनै पनि चिजको अनुमान लगाउन सकिन्छ। यो स्वास्थ्यका बारेमा भविष्यवाणी गर्न सक्छ। यसले बताउन सक्छ कि तपाईंलाई मोटोपना हुनसक्छ या क्यान्सरको संक्रमण हुनसक्छ कि नाइ।’

लेहमानका अनुसार लाइफ–२–भेक एल्गोरिदमले पनि त्यसरी नै काम गर्छ जसरी च्याटजीपीटीले गर्छ। यद्यपि यसले जन्म, शिक्षा, सामाजिक लाभ तथा काम गर्ने समय आदिको विश्लेषण गर्छ। 

लेहमान र उनको टीमले ल्याङ्वेज–प्रोसेस गर्ने एल्गोरिदमबाट डाटाको विश्लेषण गरेर मानिसका बारेमा भविष्यवाणी गर्न सिकिरहेका छन्। लेहमान भन्छन्, ‘एक प्रकारले मानिसको जीवन केही घटनाहरुको सिलसिला जस्तै हुन्छ। मानिस जन्मिन्छन्, चिकित्सकहाँ जान्छन्, विद्यालय जान्छन्, नयाँ–नयाँ ठाउँमा बस्छन्, विवाह गर्छन्, आदि।’

लेहमानका अनुसार उनीहरुले विकास गरेको सफ्टवेयर पूर्ण रुपमा निजी हो। हाल इन्टरनेटमा कसैको पनि प्रयोगका लागि यो उपलब्ध छैन। 

‘लाइफ–२–भेक’ प्रोग्रामको आधार डेनमार्कका करिब ६० लाख मानिसहरुको त्यो विवरण हो जसलाई देशको आधिकारिक एजेन्सी स्ट्याटिक्स डेनमार्कले संकलन गरेको हो। शोधकर्ताहरुको भनाइ छ कि यो विवरणको विश्लेषण गरेर जीवनको अन्तिम श्वाससम्म हुने घटनाहरुको पूर्वानुमान लगाउन सकिन्छ। 

उपलब्ध विवरणहरुको आधारमा वैज्ञानिकहरुले मृत्युको पूर्वानुमान गर्ने प्रयास गर्दा यो प्रोग्रामले ७८ प्रतिशतसम्म सही नतिजा दियो। कुनै व्यक्ति आफ्नो शहर छोडेर नयाँ ठाउँमा गएर बस्ला कि नाइ?, यसको पूर्वानुमान गर्न यो प्रोग्रामलाई ७३ प्रतिशत सफलता मिल्यो। 

लेहमानको दाबी छ कि मृत्युको भविष्यवाणी गर्ने मामिलामा उनको एल्गोरिदम अहिलेसम्मका कुनै पनि एल्गोरिदमभन्दा धेरै सफल छ। उनी भन्छन्, ‘हामी कम उमेरमा हुने मृत्युबारे अनुमान गर्छौं। त्यसैले ३५ देखि ६५ वर्ष उमेरका मानिसहरुको समूहलाई लिन्छौं। फेरि हामी २००८ देखि २०१६ को बीचका आंकडाको आधारमा अनुमान लगाउने प्रयास गर्छौं कि आगामी ४ वर्षमा कुनै व्यक्तिको मृत्यु हुन्छ या हुँदैन भनेर।’

शोधकर्ताका अनुसार  ३५ देखि ६५ वर्षको उमेर समूहमा मृत्यु कम हुन्छ। यसकारण एल्गोरिदमलाई सत्यापित गर्न पनि सजिलो हुन्छ। यद्यपि यो टुल अहिलेका लागि शोधभन्दा बाहिरको प्रयोगका लागि तयार छैन। लेहमान भन्छन्, ‘अहिलेका लागि यो एक रिसर्च प्रोजेक्ट हो, के सम्भव छ र के छैन भनेर जाँच भइरहेको छ।’

त्यसो त  इन्टरनेटमा पनि कयौं सफ्टवेयरहरु उपलब्ध छन्, जसले मृत्युको पनि भविष्यवाणी गर्ने दाबी गरिन्छ। तर वैज्ञानिकहरु यस्ता सफ्टवेयरहरु विश्वासिलो नहुने बताउँछन्। –एजेन्सी

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १६:१६
sagarmatha cementsagarmatha cement
Weather Update