News Griha :: न्यूजगृह
अर्थमन्त्री भन्छन्– हामीसँग पैसाको कमी छैन, खर्च गर्ने क्षमता भएन

काठमाडौं— अर्थमन्त्री वर्षमान पुनले अहिले देशमा पैसाको कमी नभएको बताएका छन्। तर खर्च गर्ने क्षमता भने नभएको उनको भनाइ छ। 

प्रतिनिधि सभाको बुधबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले विकास साझेदारहरुबाट ५ खर्ब बराबरको ऋण तथा अनुदान सहयोगको प्रतिबद्धता भए पनि खर्च गर्न नसकिएको सुनाए। वार्षिक विकास बजेट ३ खर्ब हाराहारी मात्रै हुँदा पनि खर्च गर्न नसकिएको पुनको भनाइ छ। 

‘हामीसँग पैसाको कमी छैन। खर्च गर्ने क्षमता भएन। अहिले पनि विकास साझेदारले ऋण तथा अनुदानको रुपमा दिने भनेर ५ खर्बको प्रतिबद्धता जनाएका छन्। हाम्रो वार्षिक विकास (पूँजीगत) बजेट ३ खर्ब मात्रै छ। त्यो पनि खर्च गर्न सकिरहेका छैनौं,’ मन्त्री पुनले भने। 

विगतका वर्षहरुमा वैदेशिक सहायताका रुपमा प्राप्त हुने रकम २०–३० प्रतिशत खर्च हुने गरेकोमा यो वर्ष त त्यति पनि खर्च हुन नसकेको अर्थमन्त्री पुनको भनाइ छ। ‘विगतका वर्षमा २०–३० प्रतिशत वैदेशिक सहायता खर्च हुन्थ्यो। यसपटक ६–७ प्रतिशत मात्रै भएको छ,’ मन्त्री पुनले भने।

अहिलेको स्थितिलाई हेर्दा बजेट खर्च गर्न नसकिएको विषयमा समीक्षा गर्न जरुरी भइसकेको अर्थमन्त्री पुनको भनाइ छ। ‘हामीलाई कहाँनेर समस्या भयो समीक्षा गर्नुपर्ने भएको छ। हामी शासन, प्रशासन चलाउने जनप्रतिनिधि र नेतृत्वहरुको आत्मसमीक्षाको विषय हो,’ मन्त्री पुनले भने। 

विकास खर्च गर्नसक्ने क्षमतापूर्ण जनशक्तिको व्यवस्थापन हुन नसकेको विषयमा पनि मन्त्री पुनले ध्यानाकर्षण गराए। ‘१२ वर्ष अगाडि म अर्थमन्त्री हुँदा ५ खर्बको वार्षिक बजेट थियो। अहिले बजेटको आकार १७ खर्ब पुगेको छ। जनशक्ति त्यतिखेर ९ हजार थियो अर्थ मन्त्रालयमा। अहिले घटेर साढे ६ हजार भएको छ,’ मन्त्री पुनले भने, ‘विकास खर्च गर्नसक्ने क्षमतापूर्ण जनशक्ति दिन नसकिएको हो कि?’

अहिले आम जनता र युवाहरुमा विश्वास जगाउनुपर्ने अवस्था रहेको भन्दै मन्त्री पुनले त्यसका लागि आफू प्रतिबद्ध भएको बताए। ‘हामीले एउटा विश्वास जगाउनुपर्ने छ। त्यो विश्वास जगाउने मेरो प्रतिबद्धता छ कि हामी अर्थमन्त्री र सरकारले गर्ने सार्वजनिक वित्तको सुधारको मुख्य चुनौतीलाई समाना गर्न सम्भव छ,’ अर्थमन्त्री पुनले भने।  
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १७:१७
Weather Update