
काठमाडौं— काठमाडौं उपत्यकाभित्र ७३ प्रतिशत बालबालिकाका दाँतमा किरा लाग्ने समस्या पाइएको छ। त्यस्तै वयस्क ४५ प्रतिशतमा गिजाको समस्या देखिएको छ।
६८ विद्यालयमा गरेको अनुसन्धानका क्रममा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको पाइएको हो।
विश्व मुख स्वास्थ्य दिवसको अवसरमा कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै पछिल्लो समय नेपालका बालबालिकामा दाँत किराले खाने अत्यधिक रहेको उल्लेख गरेको छ।
अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा बुद्धिमान श्रेष्ठले बालबालिकाले राम्रोसँग ब्रस नगर्ने, बजारमा पाइने तयारी खाना खाने, चक्लेट, विष्कुटलगायत गुलियो खानेकुरा खाँदा अधिकांश बालबालिकाको दाँत किराले खाने समस्या देखिएको बताए।
अस्पतालले बिएम फाउन्डेसन र रोटरी क्लब अफ काठमाडौं नर्थसँगको सहकार्यमा उपत्यकाभित्रका ६८ विद्यालयमा अध्ययन गरेको थियो। कूल २४ हजार एक सय ५४ विद्यार्थीसँग गरेको अनुसन्धानका क्रममा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको हो।
अस्पतालले विभिन्न समुदायमा गएर गरेको दन्त शिविरका क्रममा वयस्कहरुमा ४५ प्रतिशत गिजाको समस्या पाइएको डा श्रेष्ठले बताए।