काठमाडौं— साताको तेस्रो दिन नेप्से परिसूचकमा गिरावट भए पनि कारोबार रकम भने बढेको छ। मंगलबार शेयर बजार सूचक नेप्से ६.२४ अंकले घट्दै २०६७.२९ विन्दुमा रह्यो।
कारोबार रकम भने हिजोका तुलनामा केही बढेको छ। ९४ लाख ७८ हजार ९ सय ३३ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ छ। सोमबारको कारोबार रकम २ अर्ब ८२ करोड १८ लाख थियो।
आज १०४ कम्पनीका शेयर मूल्य बढेको छ भने १२८ को घटेको छ। ११ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन।
आज १३ उपसमूहमा लगानी, जीवन बीमा र माइक्रोफाइनान्स बाहेक सबै घटेका छन्। सर्वाधिक व्यापार उपसमूह १.३१ प्रतिशतले घटेको छ।
आज बुद्धभूमि हाइड्रोपावर र सर्वोत्तम सिमेन्टको शेयरमा सर्किट स्तरको बढोत्तरी छ। धौलागिरी लघुवित्त, इनफिनिटी लघुवित्त, भगवती हाइड्रको पनि शेयर मूल्यमा उच्च बढोत्तरी छ।
सर्वाधिक कारोबार हुने कम्पनीहरूमा आज पनि शिवम् सिमेन्ट अगाडि छ। उक्त कम्पनीको शेयर २५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै सोनापुर मिनरल्सको १८ करोड ८९ लाख, गोर्खाज फाइनान्सको १५ करोड ८२ लाख र घोराही सिमेन्टको १० करोडको शेयर किनबेच भएको छ।