News Griha :: न्यूजगृह
अस्पताल भर्ना भए महरा, भएको के हो?

काठमाडौं— नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ। जिल्ला अदालत काठमाडौंले सुन तस्करी प्रकरणमा पक्राउ महराको उपचारको व्यवस्था गर्न आदेश दिएसँगै नर्भिकमा भर्ना गरिएको हो।

संगठित निवारण ऐन २०७० को दफा ३ र ४ बमोजिम मतियारको कसुरदार रहेको प्रहरी प्रतिवेदनका आधारमा सोमबारदेखि लागूहुने गरी उनलाई न्यायाधीश दुर्गाप्रसाद खनालले ४ दिन हिरासतमा राख्न अनुमति दिएका थिए।

उक्त आदेशका क्रममा न्यायाधीश खनालले महराको उपचारको बन्दोबस्त मिलाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई निर्देशन दिएका थिए। 

महराले इजलासमा आफू टीबी, युरिक एसिड र प्रोस्टेटको बिरामी रहेको बताएका थिए। उनले आफूलाई विभिन्न रोग रहेको बताएपछि अदालतले अनुसन्धानको जिम्मेवारी लिएको सीआईबीलाई उपचार व्यवस्था गर्न निर्देशन दिएको थियो।

सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले महराले पहिले पनि नर्भिकमै उपचार गर्दै आएकाले त्यहीँ भर्ना गरिएको बताएका छन्। 
महरालाई सीआईबीको टोलीले सोमबार जरुरी पक्राउ पुर्जी दिएर कपिलवस्तुबाट पक्राउ गरेको थियो। 

महरालाई हिरासतमा राखेर अनुसन्धानका लागि सरकारी वकिलको कार्यालयले ७ दिनको म्याद मागेकोमा न्यायाधीश खनालले ४ दिन मात्रै दिएका हुन्। कुनै पनि आरोपीलाई पक्राउ गरेपछि २४ घण्टाभित्र मुद्दा हेर्ने अधिकारीसमक्ष प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था छ।
महरालाई तस्करीको १४ किलो सुन प्रकरणमा जोडिएपछि सोमबार कपिलवस्तुबाट प्रहरीले पक्राउ गरेको हो।

पूर्वन्यायाधीश डिल्ली आचार्य नेतृत्वको जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा उच्च राजनीतिक नेतृत्व पनि जोडिएको प्रतिवेदन दिएसँगै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरी निगरानी थिए।

प्रहरीको निगरानीमै रहेका बेला महरा उपत्यकाबाट बाहिरिए। उनी स्थलमार्ग हुँदै नवलपुरको बर्दघाट पुगेको अवस्थामा प्रहरीले पछ्याउन थालेको थियो।

त्यसपछि उनलाई रोल्पा जान लागेको अवस्थामा कपिलवस्तुबाट पक्राउ गरेर जहाजमा भैरहवा हुँदै काठमाडौं ल्याएर अदालतमा उपस्थित गराइएको हो।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १९:३०
Weather Update