काठमाडौं— साताको दोस्रो दिन नेप्से परिसूचकमा करेक्सन छ। कारोबार रकम उल्लेख्य परिमाणमा नबढे पनि शेयर बजार सूचक नेप्से ३.२७ अंकले बढ्दै २०७३.५३ विन्दुमा पुगेको छ।
कारोबार रकम भने हिजोका तुलनामा ४९ करोडले घटेको छ। ७३ लाख ४१ हजार १ सय ९५ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ८२ करोड १७ लाख ९८ हजार ९ सय ७६ रुपैयाँ छ।
आइतबार कारोबार सूचक ११.८३ अंकले घट्दै २०६९.०४ विन्दुमा रहँदा पनि ३ अर्ब ३१ करोड ९८ लाख ८६ हजार ९ सय ११ रुपैयाँको कारोबार भएको थियो।
सोमबार १४८ कम्पनीका शेयर मूल्य बढेको छ भने ८५ को घटेको छ। ९ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन। आज १३ उपसमूहमा वाणिज्य बैंक, उत्पादन तथा प्रशोधन, लगानी र निर्जीवन बीमा बाहेकका सबै बढेका छन्।
विकास बैंक उपसमूह सर्वाधिक १.३० प्रतिशतले बढेको छ। सर्वाधिक नोक्सानीमा मानुषी लघुवित्तका लगानीकर्ता छन्। एनएमबी बैंक, सिंगटी हाइड्रो इनर्जी, माण्डू हाइड्रोपावर र त्रिशूली जलविद्युत कम्पनीका शेयर धेरै घट्नेका सूचीमा छन्।
आज सप्तकोशी विकास बैंक, पिपुल्स पावर र धौलागिरी लघुवित्तको शेयर सर्किट स्तरमा बढोत्तरी भएको छ। सर्वाधिक कारोबार हुने कम्पनीहरूमा आज पनि शिवम् सिमेन्ट अगाडि छ। उक्त कम्पनीको शेयर १९ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ। यस्तै गोर्खाज फाइनान्सको १९ करोड ७८ लाख र सोनापुर मिनरल्सको १३ करोड ८ लाखको शेयर किनबेच भएको छ।