News Griha :: न्यूजगृह
कपिलवस्तुबाट पक्राउ परेका महरालाई काठमाडौं ल्याइयो
तस्बिर: प्रकाश डुम्रे।

काठमाडौं— सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ। 

सुन तस्करी प्रकरणसँग जोडिएका महरालाई प्रहरीले आज (सोमबार) कपिलवस्तु–रुपन्देहीबाट पक्राउ गरिएको थियो। उनलाई भैरहवा विमानस्थलबाट जहाजमार्फत् काठमाडौं ल्याइएको हो। 

सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो। जाँचबुझ आयोगको प्रतिवेदनमा महरालाई मुद्दा चलाउन सिफारिस गरिएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महरालाई पक्राउ गर्नुपर्ने भन्दै प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ‘अनुमति’ लिएका थिए। जाँचबुझ आयोगले प्रतिवेदन बुझाएकै दिन, गत बुधबार प्रधानमन्त्रीलाई भेटेर गृहमन्त्री लामिछानेले महराको विषयमा कुराकानी गरेका थिए। 

जवाफमा प्रधानमन्त्री प्रचण्डले जाँचबुझ आयोगले गरेअनुसार नै दोषी देखिएका सबैलाई कानुनी दायरमा ल्याउन गृहमन्त्रीलाई निर्देशन दिएका थिए।  

प्रधानमन्त्रीको निर्देशनपछि गृहमन्त्री लामिछानेले जाँचबुझ आयोगको प्रतिवेदनअनुसार सुन तस्करी प्रकरणको पुन: अनुसन्धान गर्न र दोषी देखिएकालाई कानुनी दायरमा ल्याउन प्रहरीलाई निर्देशन दिएका थिए। 

 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ११:४४
Weather Update