News Griha :: न्यूजगृह
नेपाली चलचित्र सम्बन्धी सम्पूर्ण जानकारी दिने ‘द फिल्म नेपाल’

काठमाडौं— नेपाली चलचित्र सम्बन्धी सम्पूर्ण जानकारी एकै स्थानबाट दिने उद्देश्यका साथ अनलाइन प्लेटफर्म द फिल्म नेपाल सार्वजनिक भएको छ।

नेपालको सिनेमा क्षेत्रको प्रयोग र प्रवर्द्धनलाई रूपान्तरण गर्ने उद्देश्यका साथ द फिल्म नेपालले आफ्नो प्लेटफर्म विकास गरेको हो। युजर फ्रेन्डली इन्टरफेस भएको द फिल्म नेपालमा नेपाली चलचित्र, कलाकार, निर्देशक र उद्योग क्षेत्रका समाचार लगायतका विभिन्न जानकारी पाउन सकिनेछ।

यसका बाहेक प्रयोगकर्ताले आउँदै गरेका चलचित्रबारे थाहा पाउनुका साथै टेलर हेर्न र रिभ्यूसमेत पढ्न पाउनेछन्। दर्शकले चाहेको चलचित्र फेला पार्न र हेर्न सहज होस् भन्ने हिसाबले युट्युब र अन्य लोकप्रिय ओटीटी प्लेटफर्ममा उपलब्ध नेपाली चलचित्रको व्यवस्थित सूची पनि द फिल्म नेपालले उपलब्ध गराउने छ।

यसको एउटा मौलिक फिचर भनेको नोटिफिकेसन सर्भिस हो। जसले प्रयोगकर्तालाई युट्युब तथा अन्य ओटीटी प्लेटफर्ममा सार्वजनिक हुने नयाँ नेपाली चलचित्रको बारेमा अलर्ट पठाउनेछ। यसले दर्शकलाई पछिल्लो कुनै चलचित्र नछुटोस् भन्ने कुराको सुनिश्चितता दिलाउनेछ। त्यसैगरी प्रयोगकर्ताले कुनै पनि नेपाली चलचित्रलाई रेटिङ तथा रिभ्यू दिएर चलचित्र प्रेमीहरूलाई उत्साहित बनाउन समेत सक्नेछन्।

नेपाली चलचित्र र कलाकारको अनलाइन डाइरेक्टरीको रूपमा रहने द फिल्म नेपालले चलचित्र निर्माताका लागि प्रवर्द्धनात्मक कार्य गर्ने विश्वास लिइएको छ। अधिकारिकता र विश्वसनीयतालाई प्राथमिकता दिन प्लेटफर्ममा कलाकारका लागि प्रोफाइल भेरिफिकेसनसमेत उपलब्ध हुनेछ।

आगामी दिनमा द फिल्म नेपालको प्लेटफर्मबाट मल्टिप्लेक्स सिनेमाजको शो टाइम तथा टिकट बुकिङको सुविधा समेत थपिने छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १८:२८
Weather Update