सुष्मा लामा हत्या आरोपित सार्वजनिक

काठमाडौं— मृत अवस्थामा फेला परेकी सुष्मा लामाको हत्याको आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभीर जङ्गलमा शव गाडिएको अवस्थामा फेला परेकी १८ वर्षीया सुष्मा लामाको हत्याको आरोपमा तारेभीर बस्ने २१ वर्षीय रूपेन्द्र लामालाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसार सुष्मा गत माघ २२ गते कलेज जान्छु भनेर घरबाट निस्किएकी र सम्पर्कविहीन भएकी थिइन्।
उनी हराएको भन्दै खोजी गरिदिन परिवारले बौद्ध प्रहरीमा उजुरी दिएका थिए र फागुन २५ गते प्रहरीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारेभीरभन्दा माथि शिवपुरी राष्ट्रिय निकुञ्ज जङ्गलमा गाडिएको अवस्थामा लामाको शव फेला पारेको थियो।
प्रकाशित मिति: आइतबार, चैत ४, २०८० १३:५४













