
काठमाडौं— काठमाडौंमा एक जना किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारेभीर भन्दा माथि शिवपुरी राष्ट्रिय निकुञ्ज जङ्गलमा किशोरीको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
फागुन २४ गते बिहीबार राति पौने ७ बजे स्थानीयले दुई वटा हात मात्रै देखेका थिए। उक्त हात फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। ‘हातमात्रै देखिएको शरीर गाडिएको अवस्थामा फेला परेको खबरपछि प्रहरी खटिएको थियो,’ एसपी अधिकारीले भने।
त्यस राति प्रहरी प्रभाग गोकर्णबाट खटिएको टोलीले घटनास्थललाई सुरक्षित राखेको थियो। फागुन २५ गते शुक्रबार बिहान ८ बजे परिसर र प्रहरी वृत्त बौद्धबाट अनुसन्धान अधिकृत सहितको टोली खटिएको थियो।
विशेषज्ञ तथा फरेन्सिक डाक्टर सहितको टोली पनि खटिएको थियो। गाडिएको शव निकाल्दा मृतक गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ बस्ने १८ वर्षीया सुष्मा लामा रहेको खुलेको थियो।
उनी गत माघ २२ गते बिहान ५ बजेदेखि हराएकी थिइन्। उनी हराएको भन्दै आफन्तले माघ २५ गते प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए। त्यसपछि हुलिया परिपत्र, टेलिफोन, कलडिटेल, विश्लेषण गरिएको थियो।
त्यस्तै सम्भावित स्थानहरूमा खोजी गरिरहेको बेलामा शव फेला परेको एसपी अधिकारीले बताए। शव फेला परेपछि आमा लुच्ची तामाङलाई घटनास्थलमा लगेर सनाखत गरिएको थियो।
शव टिचिङ अस्पतालमा पोस्टमार्टम भइसकेको छ। प्रहरी वृत्त बौद्ध, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट अनुसन्धान भइरहेको छ।
उक्त घटनामा प्रहरीले कसैलाई पक्राउ गरिसकेको भने छैन।













