काठमाडौं— पशुपति क्षेत्रको जङ्गलमा आत्महत्या गरेको अवस्थामा भेटिएकी १९ वर्षीया सुस्मिता थापाले लेखेको ‘सुसाइड नोट’ प्रहरीले फेला पारेको छ।
प्रहरीले थापाको साथबाट सुसाइड नोट फेला परेको बतायो। यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
‘घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ,’ महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी केशव डीएसपी थेवेले भने, ‘त्यसमा के लेखिएको छ भन्ने कुरा अहिले खुलाउन मिल्दैन।’ सुसाइड नोट सुस्मिताले लेखेको हो होइन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रहरीकाअनुसार शुक्रबार पशुपति क्षेत्रको गोरखनाथ मन्दिरनजिकै जङ्गलमा रुखमा झुन्डिएको अवस्थामा सिन्धुलीको कमलामाई नगरपालिका–१ घर भई हाल कपनमा बस्ने सुस्मिता मृत भेटिएकी हुन्।
डीएसपी थेवेका अनुसार सुस्मिता कपन मै रिलायन्स कलेजमा प्लस टुमा पढ्थिन्। ‘उनी कोठाबाट कलेज जान्छु भनेर हिँडेकी रहिछन्,’ उनले भने, ‘तर २ दिनपछि उनी जङ्गलमा झुन्डिएको अवस्थामा मृत भेटिइन्।’
शुक्रबार बिहान मर्निङवाकमा गएकाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
‘अहिलेसम्मको अनुसन्धानबाट उनले आत्महत्या नै गरेको जस्तो देखिन्छ,’ डीएसपी थेवेले भने, ‘हामी थप अनुसन्धान गर्दै छौँ।’