
काठमाडौं– काठमाडौंबाट पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्द किशोर पुनका छोरा दिपेश पुनलाई भैरहवा लगिएको छ। रूपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएकाले प्रहरीले उनलाई शुक्रबार साँझ जहाजमार्फत भैरहवा पठाएको हो।
दिपेश शुक्रबारै काठमाडौंको टोखाबाट पक्राउ परेका थिए।
सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानबाट सुन तस्करीमा पुनको संलग्नता रहेको देखिएको थियो। अनुसन्धानको क्रममा पुनको नेपालमा तस्करीको सुन व्यवस्थापन गर्ने तिब्बती मुलका बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क रहेको भेटिएको थियो।
सीआईबीले पुनसँग बयान समेत लिएको थियो। बयानका क्रममा उनले दावासँग आफ्नो चिनजान रहेको बताएका थिए। तर दावाको अपराध कर्मबारे आफूलाई जानकारी नभएको र त्यसमा आफ्नो संलग्नता नरहेको दाबी गरेका थिए।
यो पनि पढ्नुहोस
भेप र ब्रेक प्याडमा लुकाएर भएको सुन तस्करीको नालिबेली
सीआईबीले पुनको बयान लिए पनि मुद्दा भने चलाइएको थिएन। सुन तस्करीबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले पुनलाई कारबाही गर्नुपर्ने सुझाव दिएको थियो। आयोगले बिहीबार सरकारलाई प्रतिवेदन बुझाएपछि सुन तस्करी प्रकरणबारे प्रहरीले पुन: अनुसन्धान सुरु गरेको छ।
यसअघिको अनुसन्धानमा गम्भीर लापरबाही गरेको भन्दै जाँचबुझ आयोगको सिफारिस अनुसार नै सरकारले सीआईबीका प्रमुख, एआईजी किरण बज्राचार्यको जिम्मेवारी खोसेको छ। सीआईबीमा एआईजी श्यामलाल ज्ञवालीलाई नयाँ प्रमुखको रुपमा खटाइएको छ। यस्तै, अनुसन्धानमा लापरबाही गरेको भनेर सीआईबीका अरु केही अधिकारीलाई पनि प्रहरी प्रधान कार्यालय तानिएको छ।













