काठमाडौं— अर्थ मन्त्रालयले दुग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल गर्ने भएको छ।
अर्थमन्त्री वर्षमान पुनले शुक्रबार राजस्व सचिव डा रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन्।
यसअघि अर्थमन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साहसँग छलफल गरेका थिए।
उत्पादनको भुक्तानी नपाएको भन्दै केही महिनायता दुग्ध किसान आन्दोलनरत छन्। किसानलाई भुक्तानीका लागि दुग्ध विकास संस्थान (डीडीसी) ले अर्थ मन्त्रालयसँग रकम माग गरेको थियो।
‘किसानले दूधको भुक्तानी नपाएको अवस्थामा राज्य किसानका पीडा हेरेर बस्न सक्दैन । विगतमा जे कारणले रोकिएको भए पनि आजै वा आइतबारसम्म किसानको बक्यौता भुक्तानी हुन्छ,’ पुनले निर्देशन दिँदै भने।
अर्थमन्त्री पुनकाअनुसार कृषि मन्त्रालयको चालु आर्थिक वर्षको बजेटबाट समर्पण गराएर किसानको भुक्तानी दिइन लागिएको हो। चालु आर्थिक वर्षमा ५१ अर्ब रुपैयाँ बजेट रहेको कृषि मन्त्रालयले हालसम्म कूल बजेटको ५४ प्रतिशत मात्र खर्च गरेको छ।