News Griha :: न्यूजगृह
उदयपुर जीप दुर्घटनाः मृतक ८ जनाकै सनाखत [अपडेट]

भोजपुर— सुनसरीको धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ।

घटनास्थलमा सातजनाको मृत्यु भएको थियो भने थप एकजनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुदीपराज पाठकका अनुसार मृतक सबैको सनाखत भएको छ।

मृत्यु हुनेमा सुनसरीको इटहरी–९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका–२ का ७० वर्षीया पर्वतमाया राई, सोही वडाका २३ वर्षीय चन्द्रप्रकाश राई, छ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी–५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी–५ का ४२ वर्षीय किशन राईको सनाखत भएको डीएसपी पाठकले जानकारी दिए। किशन राईको उपचारका क्रममा मृत्यु भएको हो। 

साथै दुर्घटनामा परी गम्भीर घाइते भएकालाई उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। इलाका प्रहरी कार्यालय घोरेटारबाट सातजना र हसनपुरबाट पाँचजना गरी १२ जना प्रहरीको टोलीलाई तत्काल घटनास्थलमा पठाएर उद्धारको व्यवस्था मिलाइएको प्रहरी प्रमुख डीएसपी पाठकले जानकारी दिए। घाइतेको पनि विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ। 

धरानबाट दक्षिण भोजपुरको तर्फ जाँदै गरेको को१ज २५९३ नम्बरको जीप बिहीबार बिहान १०:३० बजेतिर उदयपुरको बेलका–७ मैनामैनीमा दुर्घटना भएको थियो। जीपमा क्षमताभन्दा बढी यात्रु सवार रहेको देखिएकाले दुर्घटना भएको देखिएको प्रहरीको प्रारम्भिक अनुमान छ।

उदयपुर दुर्घटना: ८ जनाको मृत्यु, २ को सनाखत [अपडेट]

 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १७:३६
Weather Update