
काठमाडौं— शेयर बजार परिसूचकमा सुधार आएको छ। आइतबार नेप्से २२.१० अंकले बढ्दा परिसूचक २०५२.६५ विन्दुमा आइपुगेको छ। साताको पहिलो दिन ७० लाख ४३ हजार ४५७ कित्ता शेयर २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रुपैयाँमा किनबेच भएको छ।
१९४ कम्पनीको शेयर मूल्य बढ्दा लगानीकर्ता फाइदामा छन्। जलविद्युतबाहेक १२ उपसमूहका कम्पनीको शेयर मूल्य बढ्दा परिसूचक सकारात्मक विन्दुमा पुगेको हो। वीन नेपाल लघुवित्त र जाल्पा लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। महुली लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स र उन्नति सहकार्य लघुवित्तको पनि शेयर मूल्य बढेको छ।
शेयर सर्वाधिक कारोबार भएका कम्पनीको सूचीमा शिवम् सिमेन्ट अग्रणी छ। शिवमको ४ लाख ३० हजार १ सय १३ कित्ता शेयर २२ करोड ९३ लाख २५ हजार ६ सय ४३ रुपैयाँमा किनबेच भएको छ। किनबेचमा शेयरको अन्तिम मूल्य प्रति कित्ता ५ सय ३७ रुपैयाँ रह्यो। यस्तै सोनापुर मिनरल्सको १८ करोड १३ लाख, जोशी हाइड्रोपावरको ७ करोड ९० लाख र हाथवे इन्भेष्टमेन्टको शेयर ७ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
१९४ कम्पनीको शेयर मूल्य बढ्दा ४६ वटाको भने घटेको छ। ४ कम्पनीको शेयरमूल्य स्थिर रह्यो। सर्वाधिक घट्नेमा चिरख्वा हाइड्रोपावर रह्यो। चिरख्वाका लगानीकर्ताले ७.०६ प्रतिशतले गुमाएका छन्। घट्नेको सूचीमा पिपुल्स हाइड्रोपावर, जोशी हाइड्रोपावर, एनआईसी एसिया ग्रोथ फण्ड–२ र मध्यभोटेकोसी जलविद्युत पनि छन्।