News Griha :: न्यूजगृह
२६ स्थानीय तहको उपनिर्वाचन हुन बाँकी, इलाम २ मा चहलपहल बढ्यो

काठमाडौं पछिल्लो पटक थप तीन जना वडाध्यक्षको निधन भएपछि स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने पदको संख्या २६ पुगेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उपनिर्वाचनको मिति घोषणा भएपछि हालसम्म रिक्त रहेका सबै पदको उपनिर्वाचन हुने जानकारी दिए। आगामी वैशाख १५ गते प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त सदस्यका लागि उपनिर्वाचन हुँदैछ । 

पछिल्लो पटक सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिका–६, कर्णालीको सानीभेरी गाउँपालिका–५ र मधेसको डाक्नेश्वरी नगरपालिका–४ का वडाध्यक्षको निधन भएको छ। आयोगका अनुसार जिल्ला समन्वय समितिको प्रमुख दुई, नगर उपप्रमुख र गाउँपालिकाका अध्यक्ष एक/एक तथा उपाध्यक्ष दुई र वडाध्यक्ष २० गरी २६ पद रिक्त छन्। ति स्थानको उपनिर्वाचनको मिति तोक्न ढिलाइ भएको छ। आयोगले सरकारसँग परामर्श जारी राखेको र केही दिनभित्र मिति तोक्ने जनाएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन हुने इलाम २ मा चुनावी चहलपहल बढेको छ। नयाँ राजनीतिक समीकरणले उपनिर्वाचन थप गर्माएको छ। विशेषगरी नेपाली कांग्रेस र नेकपा एमालेले इलाम २ लाई प्रतिष्ठाको विषय बनाएका छन्। सोही अनुरूप आकाङ्क्षीहरूको दौडधुप बढेको छ।

एमालेले चैत ५ सम्ममा उम्मेदवार सिफारिस गर्ने गरी तयारी थालेको छ। जिल्ला सचिवालयको बैठकले उम्मेदवारको नाम जिल्ला कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वको कार्यदल गठन गरिसकेको छ। कार्यदलले चैत ३ गतेसम्म उम्मेदवारको सूची जिल्ला कमिटीमा पेस गर्नेछ। उम्मेदवार हुन इच्छुकले यही फागुन २७ सम्ममा आफ्नो व्यक्तिगत विवरणसहित कार्यदलमा इच्छा जाहेर गर्नुपर्नेछ। 

एमाले केन्द्रीय समितिले जिल्लामा पठाएको अन्तरपार्टी निर्देशन (अपानि)मा उम्मेदवारका लागि एक महिलासहित तीन जनाको नाम जिल्ला कमिटीले केन्द्रमा सिफारिस गर्ने उल्लेख छ। उपनिर्वाचनमा उम्मेदवार बन्ने व्यक्तिको मापदण्डसमेत एमालेले निर्धारण गरेको छ।

एमालेबाट बुद्धिप्रसाद खनाल, रवीन्द्र सुवेदी, डा. देवी क्षेत्री दुलाल, दिवंगत नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङले आफूलाई बलियो उम्मेदवारका रुपमा उभ्याएका छन् । नेपाली कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का २०७९ मा व्यहोरेको हारलाई जितमा परिणत गर्ने अभियानमा छन्। जिल्लामा कांग्रेसको सङ्गठनभित्र बलियो पकड बनाएका भेषराज आचार्य यसपटक जसरी पनि टिकट लिने र कांग्रेसलाई विजयी गराउने अभियानमा रहेको दाबी गरिरहेका छन्। पूर्वराज्यमन्त्री केशव थापा र पूर्वसांसद नगेन्द्र कुमाल पनि कांग्रेसबाट टिकटको दौडमा छन्।

वैकल्पिक दलका नेताहरू पनि चुनावी अभियानमा जुटिसकेका छन्। पहिचानवादीको तर्फबाट डकेन्द्रसिंह थेगिम उम्मेदवार बन्ने सम्भावना छ। संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आन्तरिकरूपमा उम्मेदवार खोजिरहेको छ।

त्यस्तै नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन लगायतका दलहरूले पनि उम्मेदवार उठाउने तयारीमा छन्।

जिल्ला निर्वाचन कार्यालय इलामले उपनिर्वाचनको तयारीलाई तिव्रता दिएको छ।  निर्वाचन आयोगको कार्यतालिका अनुसार उपनिर्वाचनका लागि फागुन २४ देखि ३० गतेसम्म राजनीतिक दल दर्ताको सूचना प्रकाशन गरिनेछ। त्यस्तै चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ। सोही दिन मुख्य निर्वाचन अधिकृत नियुक्त गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ।

संविधान सभा अध्यक्ष तथा पूर्व सभामुखसमेत रहेका नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि रिक्त रहेको इलाम २ मा उपनिर्वाचन हुन लागेको हो। गतवर्षको प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काविरुद्ध एक सय १४ मतको झिनो अन्तरमा नेम्वाङ निर्वाचित भएका थिए। 

उपनिर्वाचनका लागि ७९ मतदानस्थलमा एक सय ४९ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। आयोगकाअनुसार इलाम २ मा एक लाख १५ हजार चार सय ६७ मतदाता छन्।

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १३:१८
Weather Update