अघिल्लो साताको बिहीबार। काठमाडौंमा झरी दर्किरहेको थियो। हामी भने ठमेल घुम्दै थियौं। ‘काठमाडौंमा पानी परेको छ। उता त हिउँ परिरहेको होला। हिमपातका कारण हिँड्न मिलेन भने नि?’ आफ्नै मनभित्रको डरले प्रश्न गर्थ्यो।
‘डर के आगे जीत है’ भनेजस्तै यात्रा पुरा गर्ने अठोट भने डगमगाएको थिएन। झरीमा भिज्दै भए पनि केही न्यानो कपडाहरुको सपिङ सकियो। साँझ पानी बन्द भयो। आकाशसँगै हाम्रो यात्राको सम्भावना पनि विस्तारै खुल्दै गयो।
शुक्रबार बिहान ६ बजे, टोखामा जम्मा भएपछि हामी गाडीभित्र कोचियौं। झोरबाट अगाडि बढेर उकालो चढ्न परेपछि गाडीको गति केही कम भएको थियो। हाम्रो मन भने झन् तीव्र गतिमा हुइँकिन थाल्यो।
गुर्जे भन्ज्याङ कटेर ओरालो लागेपछि भने मन ढुक्क भयो– अब त यात्रा जसरी पनि हुन्छ। फागुन लागेदेखि नै यात्राका लागि जोड दिइरहेका प्रशान्त र सम्पूर्णको मुहारमा बेग्लै खुसी थियो।
‘जे होस् हिँडियो हैन त दादाहरु,’ प्रफुल्ल मुद्रामा सम्पूर्ण सुनिए।
यसपटक हामीले गोसाइँकुण्डलाई गन्तव्य बनाएर काठमाडौं छाडेका थियौँ। नुवाकोटका फाँटहरु कटेर हामी रसुवाका डाँडाहरु उक्लियौं। भीरमा बल्लतल्ल टेकिएका जस्तो देखिने बस्तीका बीचबाट, साँघुरो सडक हुँदै बिहान ११:३० बजेतिर हामी धुन्चे पुग्यौं।
धुन्चेमा गाडी रोकेर त्यही दिन आधा जति बाटो हिँडिसक्ने लक्ष्य थियो हाम्रो। धुन्चेमा खाना पनि खानु पर्ने। गाडी छाडेर, झोला तयार गरी हिँड्दासम्म घडीमा साढे १ बजेको थियो। हामीले धुन्चे छाड्दा डाँडाहरु भने कालो बादलले घेरिसकेको थियो।
‘उ त्यो कालो डाँडा छ नि, हो त्यही डाँडो कटेर गोसाइँकुण्ड पुग्ने हो तपाईंहरु,’ धुन्चे बजारको छेउमा भेटिएकी १ जना दिदीले हामीलाई बाटो देखाउँदै भनिन्।
धुन्चेदेखि घट्टेखोलासम्म हामी नाच्दै गाउँदै पुग्यौं। घट्टेखोला कटेर उकालो लाग्दा भने खुट्टाको चाल विस्तारै धिमा हुँदै गयो। लौरीको सहारामा गति बढाउँदै पाइतालाले उकालो नाप्न सुरु गरे।
देउराली नपुग्दै हामीलाई हिउँको वर्षाले स्वागत गर्यो। काठमाडौंको झरीसँग डराएर यात्रा नै अनिश्चित भएको ठानेका हामीलाई हिउँको वर्षाले भने प्रफुल्लित बनायो।
हामी उकालो चढ्दै थियौं, दिन भने डाँडा चढेर क्षितिजमा डुब्ने अवस्थामा पुगिसकेको थियो। अँध्यारो भइसकेपछि हामी धिम्सा पुग्यौं। भर्खरै परेको हिउँले धिम्सा सेताम्य नै थियो। अगाडिको यात्राका लागि पाइलाहरु बढ्न नमानेपछि त्यो रात हामीले धिम्सामै बिताउने निधो गरियो।
दोस्रो दिन बिहान ७:३० बजेतिर धिम्साबाट उकालो लागियो। धिम्साबाट चन्दनबारी पुग्न हामीलाई ३० मिनेट जति लाग्यो। घामका किरणहरुले टल्किएको हिमाल हेर्न भन्दै केही मिनेट चन्दनबारीको भ्यूटावरमा बिताइयो।
चन्दनबारीबाट चोलाङपाटीसम्म पुग्दा साथीहरुका खुट्टा त थाकेकै थिए, पेट पनि खाली भइसकेको थियो। हामीले त्यही खाजा खाने निधो गर्यौं। चोलाङपाटीमा लाङटाङ राष्ट्रिय निकुञ्जको एउटा चेकपोस्ट पनि रहेछ। त्यहाँ टिकट देखाउनुपर्ने। हामीले आ–आफ्नो टिकट देखायौं।
खाजा खाइवरी बाटो लाग्दासम्म चोलाङपाटीमा हामीले झन्डै १ घण्टा व्यतित गरिसकेका थियौं। मनिषले भने चोलाङपाटीबाट हिँड्न नसकिने निष्कर्ष सुनाए। काठमाडौंमा बाइकको लेकगार्डमा ठोक्किएर दुखेको घुँडालाई रसुवाको उकालो चढ्दा झन् दबाब परेछ। उनले दु:खाइ पनि अति नै बढेको सुनाए।
जान भनेर आइसकेपछि गन्तव्यमा पुग्नु त पर्यो। तर कसरी? मनिषले नै जुक्ति सुनाए– म घोडा चढ्छु दादाहरु। यताउता फोन गरेर एउटा घोडा फिक्स गरियो। ६ हजार रुपैयाँमा घोडावालाले गोसाइँकुण्ड नै पुर्याइदिने बताए।
मनिष घोडा चढ्ने भएपछि आफूसँग भएको गह्रङ्गो सामानहरु सबैले उनको झोलामा कोचे। चोलाङपाटीभन्दा तलबाटै आउन लागेको घोडा पुग्न समय लाग्ने देखियो।
प्रेमले उपाय निकाले– मनिष घोडा कुर्दै गर्छ, हामी हिँडौं दादाहरु। प्रेमको प्रस्तावमा सबै सहमत। मनिष घोडाको प्रतिक्षामा रोकिए। पैदल हिँड्ने टोली भने अगाडि बढ्यौं।
करिब ५ मिनेट हिँडिसकेर आधा मिनेटजति आराम हुन्थ्यो हाम्रो। चोलाङपाटीबाट अगाडि बढेपछि भने उचाइको असर देखिन थाल्यो। थोरै हिँड्दा पनि श्वास चढ्ने समस्या। चोलाङपाटीबाट हिँडेका हामीलाई लौरी विनायक पुग्न झण्डै डेढ घण्टा लाग्यो।
मनिषले हामीलाई लौरी विनायकमा भेट्टाउलान् कि भन्ने अपेक्षा थियो। तर उनी चढेको घोडा हामीभन्दा धेरै तल देखियो। लेक लाग्ने ठाउँमा घोडा पनि छिटो हिँड्न नसक्ने रहेछ सायद। हामीले विस्तारै पाइतालाहरु अगाडि बढायौं।
बुद्ध मन्दिर पुग्नुभन्दा केही तलको उकालोमा मनिष चढेको घोडाले हामीलाई भेट्टायो। त्यसपछि भने घोडा र हामी सँग–सँगै हिँड्यौँ। हिमालकै टुप्पोमा पुगेको जस्तो, जता हेरे पनि हिउँ नै हिउँ देखिने। बुद्ध मन्दिरबाट तेर्सो बाटो सुरु भयो।
थरीथरीका पोजमा फोटो खिचाउँदै हामी तेर्सो बाटो लाग्यौं। तेर्सो भनिए पनि केही ठाउँमा भने उकालो चढ्नुपर्ने। अझ केही ठाउँमा त साघुरो बाटोमा चिप्लिएर खोँचमै पुगिन्छ कि भन्ने डर।
बुद्ध मन्दिरबाट हिँडेको करिब २ घण्टापछि हामी गोसाइँकुण्ड पुग्यौं। गोसाइँकुण्ड नपुग्दै हामीलाई भैरवकुण्डले स्वागत गरिसकेको थियो। लौरी विनायकको उकालो चढ्दा बेहोरेको कष्ट भैरवकुण्ड पुग्दासम्म साटसुट घटिसकेको थियो। गोसाइँकुण्डको दर्शन पाउँदा भने मनभरिको उत्साह चरम सीमामै पुग्यो।
भनिन्छ नि, ‘यात्राको मज्जा लिने हो। गन्तव्य त कसले देखेको छ र?’ । तर कतिपय अवस्थामा भने गन्त्वय चुम्नुको महत्व नै बेग्लै हुने। घुँडा दुखेर हिँड्नै नसक्ने भएपछि घोडा चढेर गोसाइँकुण्ड पुगेका मनिषको भावभंगी त्यस्तै थियो। खाना खान भनेर रोकिएको होटलको डिलमा बसेर केहीबेर उनले एकनिमेष गोसाइँकुण्डलाई हेरिरहे।
‘जे होस् पुगियो यार दादाहरु। धन्यवाद सबै जनालाई।’ पुग्न सकिँदैन कि भन्दाभन्दै गन्तव्यमा पुगेर होला सायद, मनिष केही भावुक सुनिए। हामीले एक–अर्कालाई अङ्गालो हाल्दै गन्तव्य टेक्दाको खुसी साट्यौँ।
धिम्साबाट हिँड्दा नै हामीले बिहानको खाना गोसाइँकुण्डमा नै खाने योजना बनाएका थियौं। पहिले निर्धारण गरिएको समयभन्दा करिब १ घण्टा जति ढिलो गरी गोसाइँकुण्ड पुगेका हामीले त्यहीँ खाना खायौं।
हामी पुग्दा गोसाइँकुण्डसहित वरपरका सबै तालहरु जमेर बरफ बनेका थिए। गोसाइकुण्ड पनि जमेर बरफ बनेको थियो। सबैजनाले मन्दिरमा पूजा गरेपछि गोसाइकुण्डको चरण स्पर्ष गर्यौँ। भगवान शिवको भजन गाउँदै केहीबेर तालमाथि नै गएर नाच्यौं।
हामीहरु ताल माथि गएर नाचिरहेको देखेर १ जना दगुर्दै आए। उनी कोरियन नागरिक रहेछन्। उनले मोबाइल थमाउँदै केही फोटो खिचिदिन आग्रह गरे। हामीले उनका फोटो खिचिदिएपछि उनले पनि हाम्रा फोटोहरु खिचिदिए।
काठमाडौंको ब्यस्त दैनिकीलाई छाडेर यात्रामा निस्किएका हामीलाई जतिसक्दो छिटो फर्किनुपर्ने बाध्यता थियो। हामीले त्यही दिन गोसाइँकुण्ड छाड्नुपर्ने भयो। गोसाइँकुण्डमा केही घण्टा बिताएर हामी पुन: आएकै बाटो फर्कियौं।
यात्राको एउटा रोचक पक्ष हुन्छ, जाँदा उत्साह र फर्किँदा अनुभव। उकालो चढ्दा श्वास चढेर एक–अर्कासँग बोल्नै नसक्ने भएर हिँडेका हामी फर्किँदा भने आ–आफ्ना यात्रानुभव सुनाउँदै ओरालो झर्यौं।
गीत गाउँदै। सुसेली हाल्दै। दगुर्दै। एकअर्कालाई हिउँका डल्लाले हिर्काउँदै हामीले यात्राबाट फर्किदाको मज्जा लियौं। गोसाइँकुण्डबाट फर्किएको दिन हामी चोलाङपाटीमै बस्यौं। अर्को दिन भने साँझ करिब ८ बजेतिर काठमाडौं पुगेर हाम्रो यात्रा टुंगियो।