काठमाडौं— धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले उकालो लागेर दुई हजार ३० दशमलव ५५ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अङ्कले उकालो लागेर तीन सय ६० दशमलव २७ मा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ।
कूल ८९ लाख २९ हजार एक सय ५२ कित्ता शेयर तीन अर्ब १९ करोड ९२ लाख पाँच हजार आठ सय २० रुपैयाँमा किनबेच भए। नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ। आज कारोबार भएकामध्ये ५९ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। शेयर कारोबार हुने साताको अन्तिम दिनसम्म आइपुग्दा बजार भने उकालो लागेर बन्द भएको छ।
सोमबार उच्च अङ्कले वृद्धि भई सकारात्मक सर्किट लागेर बन्द भएको थियो। मङ्गलबार भने बजार पुनः उच्च अङ्कले नै ओरालो लागेको थियो। नयाँ अर्थमन्त्रीलाई स्वागत गर्दै बुधबार पनि बजारले हरियो झण्डा देखाएको थियो। आज पनि नेप्से परिसूचक उकालो लागेर बन्द भएको छ।