काठमाडौं– सोमबार सकारात्मक सर्किट लागेर कारोबार समय अगावै बन्द भएको शेयर बजारमा आज (मंगलबार) उच्च अङ्कको गिरावट देखिएको छ। नेप्से परिसूचक ७०.३१ अङ्कले घटेर २००७.६९ को बिन्दुमा कायम भएको छ।
सोमबार एकैदिन परिसूचक ११७.७० अङ्क अर्थात् छ प्रतिशतले बढेको थियो। सोमबार उच्च अङ्कको वृद्धिपछि मंगलबार लगानीकर्ता नाफा बुकमा लाग्दा बजार घट्यो।
मंगलबार ३०६ कम्पनीको १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता शेयर ६९ हजार २०८ पटक खरिदबिक्री हुँदा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार ९५८ रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबारको कारोबारमा २१३ कम्पनीको शेयर मूल्य घट्दा ३३ कम्पनीको मात्रै बढेको छ।
नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स ३.२४ र फ्लोट इन्डेक्स ३.३७ प्रतिशतले घटेको छ। म्युचुअल फन्ड ०.६६ प्रतिशतले बढ्दा अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै अन्य समूहको उपसूचक ४.३५ प्रतिशतले घटेको छ।
त्यस्तै, जलविद्युत् समूह ४.३० र उत्पादन तथा प्रशोधन ४.२० ले घटेको छ। बैंकिङ ३.०१, विकास बैंक ३.६५, वित्त २.७५, होटल तथा पर्यटन ३.६९ र लगानी समूह ३.४८ प्रतिशतले घटेको छ।
त्यसैगरी, जीवन बीमा समूह ३.४९, लघुवित्त १.२७, निर्जीवन बीमा समूह २.६० र व्यापार समूह २.१५ प्रतिशतले घटेको छ।
गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मुल्य मंगलबार सबैभन्दा धेरै ८.७३ प्रतिशतले बढेको छ। बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य ९.९९ र बोटलर्स नेपाल (तराई) को शेयर मूल्य ९.४५ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ४१ करोड ९१ लाख २२ हजार ७३५ बराबरको ८ लाख ५० हजार ४६४ कित्ता शेयर किनबेच भएको छ।