News Griha :: न्यूजगृह
रुकुम पश्चिममा कोरोनाविरुद्धको ‘बुष्टर डोज’खोप अभियान

रुकुमपश्चिम– रुकुम पश्चिममा आजदेखि फागुन २४ गतेसम्म कोरोनाविरुद्धको ‘बुष्टर डोज’ खोप अभियान सञ्चालन हुने भएको छ। 

जिल्लाका ६ वटा स्थानीय तहमध्ये चार वटामा बुष्टर डोज खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय रुकुम पश्चिमका खोप सुपरभाइजर कृष्णा खड्काले जानकारी दिए। 

उनका अनुसार मुसीकोट र चौरजहारी नगरपालिकामा गत असोजमै खोप कार्यक्रम सञ्चालन गरिसकिएको छ। बाँकी चार स्थानीय तह सानीभेरी, बाँफीकोट, त्रिवेणी गाउँपालिका तथा आठबिसकोट नगरपालिकामा यही फागुन  २१ गतेदेखि २४ गतेसम्म कोरोनाविरद्धको खोप अभियान सञ्चालन हुने उनले बताए। 

जिल्लाका चारवटा स्थानीय तहका लागि स्वास्थ्य सेवा कार्यालयमा दुई हजार २९० डोज खोप आइसकेको छ। खोप १२ वर्षभन्दा माथिका व्यक्तिलाई लगाइने छ। यसका साथै पहिले कोरोनाविरुद्धको खोप लगाउन छुटेका व्यक्तिले पनि खोप लगाउन पाउने छन्। 

कोभिड खोप अनुगमन तथा व्यवस्थापन समितिको बैठकले यसबारेमा गत बिहीबार नै निर्णय गरिसकेको छ। आजदेखि सञ्चालन हुने कोरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य सेवा कार्यालयले सम्बन्धित स्थानीय तहका स्वास्थ्य सेवा शाखा, स्वास्थ्य स्वयम्सेविकासँग समन्वय गरेर खोप लगाउने गरी तयारी भएको जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ०७:४६
Weather Update