News Griha :: न्यूजगृह
होस्टेलमा बालिकाको शंकास्पद मृत्युबारे अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसले चितवनमा फागुन १२ मा आफू बस्ने होस्टेलको कोठामा १४ वर्षकी बालिका मृत भेटिएको घटनाको अनुसन्धान गर्न माग गरेको छ। चितवनको रत्ननगर नगरपालिका- १० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीया छात्रा शालीन पोखरेलको होस्टेलमा भएको मृत्यु शंकास्पद भएको भन्दै कांग्रेसले अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन माग गरेको हो। 

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति निकालेर भनेका छन्, ‘विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिकाको आकस्मिक बिदाई आफैँमा अत्यन्तै दुःखद त भएको छ नै झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यसपछि आत्महत्या दुरुत्साहन या हत्याको आशङ्काको स्थिति अत्यन्तै गम्भीर छ।’ 

यो घटनामा सत्य, तथ्य बाहिर ल्याएर दोषीलाई हदैसम्मको कारबाहीका लागि कांग्रेसले सरकारसँग माग गरेको छ। गोरखाको अजिरकोट गाउँपालिका- ५ घर भएकी शालीन शिशु निकेतन विद्यालयको छात्रावासमा बसेर पढ्दै थिइन्। छोरीको हत्या भएको हुनसक्ने आशंका गर्दै उनको बाबुले विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र होस्टल वार्डेनविरुद्ध किटानी जाहेरी दिएका थिए।

जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धानका लागि प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र वार्डेन कमल शर्मा पौडेललाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १६:५०
Weather Update