काठमाडौं– चितवनको एक स्कुलको होस्टेलमा बालिकाको मृत्यु भएको घटनामा प्रधानाध्यापकसहित तीन जना पक्राउ परेका छन्।
गत शनिबार बिहान रत्ननगर नगरपालिका-१५ माधवपुर घर भई वडा १० एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टेलमा बस्ने १४ वर्षीया शालीन पोखरेलको मृत्यु भएको थियो।
उनको मृत्युपछि ज्यानसम्बन्धी कसुरमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। प्रहरीले वडा नम्बर १० कै ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षका किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेललाई पक्राउ गरेको हो। बालहरि उक्त स्कुलका प्रधानाध्यापक, किरणबहादुर सहप्रधानाध्यापक र कमल होस्टेलका वार्डेन हुन्।
शालीनको मृत्यु भएपछि आफन्तले तीन जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। प्रहरीले उजुरी दर्ता नगरेको भन्दै काठमाडौंमा पीडित परिवारले बिहीबार पत्रकार सम्मेलन गरि घटना शंकास्पद रहेको दाबी गरेका थिए। पीडित परिवारले शालीनको बलात्कारपछि हत्या भएको दाबी गर्दै आएका छन्।
तर पीडित परिवारको जाहेरीपछि प्रधानाध्यापकसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले बताए। प्रहरीले यस घटनामा अनुसन्धान जारी रहेको जनाएको छ। शवको पोस्टमार्टमका लागि काठमाडौंस्थित महाराजगञ्ज टिचिङ अस्पतालमा ल्याइएको छ।
उनका अनुसार गत शनिबार बालिका होस्टलको कोठामा रहेको सिलिङको पङ्खामा डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। पक्राउ परेका उनीहरूमाथि अनुसन्धान गर्न सात दिन हिरासतमा राख्न चितवन जिल्ला अदालतले अनुमतिसमेत दिएको छ।













