News Griha :: न्यूजगृह
धितोभन्दा १ अर्ब रुपैयाँ बढी ऋण प्रवाह गरी जग्गामा लगानी! 

काठमाडौं– प्रभु बैंकका वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मनोज न्यौपानेले मिलेमतोमा ऋण प्रवाह गरी जग्गामा लगानी गरेको पाइएको छ। धितोबाट हुन आउनेभन्दा करिब १ अर्ब रुपैयाँभन्दा बढी ऋण प्रवाह गरेको देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले न्यौपानेमाथि अनुसन्धान गरिरहेको छ। 

सीआईबीले न्यौपानेसहित १० जनालाई पक्राउ गरेर अनुसन्धान जारी राखेको छ। उनीहरुमाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले पहिलोपटकका लागि सीआईबीलाई ७ दिनको म्याद दिएको छ।  

प्रभु बैंकमा गाभिएको तत्कालिन सेञ्चुरी बैंकको सीईओ रहँदा न्यौपानेले कर्मचारीहरूसँगको मिलेमतोमा धितोभन्दा बढी रकम ऋण प्रवाह गरेको देखिएको सीआईबीले जनाएको छ।  तत्कालीन सेञ्चुरी बैंकको सीईओ हुँदा न्यौपानेसहितका व्यक्तिले ललितपुरको देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंलाई मिलेमतोमा ऋण दिलाएका थिए। सेञ्चुरी कमर्सियल बैंक गत वर्ष प्रभु बैंकमा गाभिएको थियो।

देउराली बहुउद्देश्यीय सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका चौलागाईं अहिले कारागारमा छन्। चौलागाईंमाथि अनुसन्धान अनुसन्धान गर्ने क्रममा सीआईबीले सेञ्चुरी बैंकको ऋण प्रवाहमा अनियमितता गरेको पाएको थियो।

चौलागाईं समेतको लगानी रहेका ४ वटा कम्पनीमा सेञ्चुरी बैंकले ऋण प्रवाह गरेको थियो। यसरी ऋण प्रवाह भएका कम्पनीहरुमा पूजा ट्रेडिङ एन्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ, पूजा मार्केटिङ र अन्नपूर्ण डिस्टिलरी रहेका छन्।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार ती कम्पनीमा सेञ्चुरी बैंकले २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ ऋण प्रवाह गरेको थियो। धितो मूल्याङ्कनले १ अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ मात्र ऋण दिनुपर्नेमा न्यौपानेसहितका व्यक्तिले मिलेमतोमा ९७ करोड ४१ लाख ७० हजार ७७२ रुपैयाँ बढी ऋण दिएको खुलेको थियो। 

चौलागाईंले सहकारीका बचतकर्ताको २ अर्ब बढी रकम ठगी गरेको पाइएको छ। बचतकर्ताले जम्मा गरेको सबै रकम चौलागाईंले आफू र आफ्नो परिवारका सदस्यको नाममा जग्गा खरिदमा लगानी गरेको पाइएको थियो। उनले राजधानीका विभिन्न स्थानमा ११० रोपनी जग्गा खरिद गरेको अनुसन्धानले देखाएको छ। 

वीरगन्ज महानगरपालिका–५ घर भइ हाल ललितपुर–१० कुपन्डोल बस्ने न्यौपानेसहित पक्राउ पर्नेमा राजेश भण्डारी, दिलीप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान, तुलसी गौतम र सुनिल बस्नेत छन्। 

चल्तीका बैंकर नै पक्राउ परेपछि वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघमा हलचल मच्चिएको छ।  प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, सेञ्चुरी बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तुल्सीराम गौतमलगायतलाई सीआइबीले प्रक्राउ गरेपछि संघले बुधबार बैठक नै बोलाए छलफल गरेको थियो। 

बैठकपछि संघका प्रतिनिधिहरु सीआईबीका प्रमुख, नेपाल राष्ट्र बैंकका गभर्नर र गृहमन्त्रीलाई भेट्न समेत पुगेका छन्। 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १७:४६
Weather Update