News Griha :: न्यूजगृह
ठूलोबुबाको घरमा गोली प्रहार गरी फिरौती माग्ने तीन जना पुर्पपक्षका लागि जेल चलान

हेटौंडा— जिल्ला अदालत मकवानपुरले हेटौंडा उपमहानगरपालिका–९ स्थित सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरेर रकम माग्ने ३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। 

हेटौंडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई अदालतले बुधबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

गत मंसिर १९ गते राती गोली प्रहार गरी २० गते फिरौती माग्ने ३ जनालाई नै प्रहरीले पक्राउ गरी ९० दिनसम्म आवश्यक अनुसन्धान गरी अदालत पेश गरेको थियो।

सूर्यप्रसाद निश्चलका ठूलोबुबा हुन्।

मंगलबार जिल्ला अदालतकी न्यायाधीश मन कुमारी जिएम विकको एकल इजलासको आदेशपछि अभियुक्तहरूलाई पूर्वपक्षका लागि भीमफेदी जेल चलान गरिएको हो।

गोली प्रहारपछि पक्राउ परेका अभियुक्तहरूले सूर्यप्रसाद पौडेलसँग एक करोड रुपैयाँ माग गरेका थिए। प्रहरीले निश्चलको साथबाट स्वचालित पेस्तोलसहित १९ थान गोली बरामद गरेको थियो।

हेटौंडा उपमहानगरपालिका–९ मा घर भएपनि हेटौंडा उपमहानगरपालिका–४ मा पौडेल डेरा लिएर बसेका थिए। लागूऔषध समेतको कारोबार गर्ने तीन अभियुक्तको साथबाट प्रहरीले २ वटा मोटरसाइकल, २ ग्राम चार सय मिलिग्राम खैरो हिरोइन, लागूऔषध तौल गर्ने तराजु, ५ थान मोबाइल र ५० हजार रुपैयाँ समेत बरामद गरेको थियो ।

रातको समयमा घरको भित्तामा एक्कासि गोली प्रहार गर्दै निश्चलले ठूलोबुबा सूर्यप्रसादलाई आतङ्कित बनाएका थिए। गोली प्रहारपछि निश्चलले नयाँ नम्बरबाट फोन गरेर हिन्दी भाषाको प्रयोग गर्दै एक करोड रुपैयाँ माग गरेका थिए।

एक करोड नगद मागेपछि आत्तिएका सूर्यप्रसादले तुरुन्त प्रहरीलाई खबर गरे । त्यसपछि प्रहरीले निश्चल र उनका साथीहरूलाई पक्राउ गरेको थियो।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १९:१८
Weather Update