News Griha :: न्यूजगृह
सहोदर ठूलोबुबाको घरमा गोली प्रहार गरी एक करोड मागेपछि...

काठमाडौं— ठूलोबुबाको घरमा गोली प्रहार गरेर एक करोड रुपैयाँ माग्ने ३ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका-९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री छन् । घटनाको योजनाकार निश्चल हुन् ।

गत मंसिर १९ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ का सूर्यप्रसाद पौडेलको घरको भित्तामा एक्कासि गोली प्रहार भएको थियो । 

रातको समयमा घरको भित्तामा एक्कासि गोली प्रहार गर्दै निश्चलले सहोदर ठूलोबुबा सूर्यप्रसाद लाई आतङ्कित बनाएका थिए । गोली प्रहारपछि निश्चलले नयाँ नम्बरबाट फोन गरेर हिन्दी भाषाको प्रयोग गर्दै एक करोड रुपैयाँ माग गरेका थिए ।

एक करोड नगद मागेपछि आत्तिएका सूर्यप्रसादले तुरुन्त प्रहरीलाई खबर गरे । त्यसपछि प्रहरीले निश्चल र उनका साथीहरूलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

प्रहरीले निश्चलको साथबाट स्वचालित पेस्तोलसहित १९ राउन्ड गोली बरामद गरेको छ । त्यस्तै पक्राउ परेकाको साथबाट २ वटा मोटरसाइकल, २ ग्राम चार सय मिलिग्राम खैरो हेरोइन, लागूऔषध तौल गर्ने तराजु, ५ थान मोबाइल र ५० हजार रुपैयाँ बरामद भएको छ ।

पक्राउ परेका तीन जनालाई प्रहरीले ज्यान मार्ने उद्योग, लागूऔषध र हातहतियार सम्बन्धी मुद्दा चलाउने भएको छ ।  

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १९:५२
Weather Update