News Griha :: न्यूजगृह
संसद् भवन प्रवेश गरेका लघुवित्तका ऋणीविरुद्ध मुद्दा चलाउने तयारी
सांकेतिक तस्बिर

काठमाडौं– निषेधित क्षेत्र तोडेर सोमबार सङ्घीय संसद् भवन प्रवेश गरेका लघुवित्तका ऋणीहरूविरुद्ध प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ।

नयाँबानेश्वरस्थित संसद् भवन प्रवेश गरेका लघुवित्तका ऋणीहरूलाई प्रहरीले पक्राउ गरि प्रहरी वृत्त नयाँबानेश्वरमा राखेको छ।

पक्राउ पर्नेमा ४८ महिला र एक जना पुरुष छन्। पक्राउ गरिएकाहरूलाई मुद्दा चलाइने काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले बताए। ‘अराजक गतिविधिमा संलग्नविरुद्ध मुद्दा चल्छ, अहिले छनोट गर्ने काम भइरहेको छ,’ उनले भने। 

संवेदनशील क्षेत्रमा प्रवेश गर्न उक्साउने र अराजक गतिविधि गर्नेहरूलाई पहिचान गरेर पक्राउ परेकामध्ये केहीलाई मात्र छाड्ने प्रहरीको तयारी छ । पक्राउ परेकाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अनुसार सार्वजनिक शान्तिविरुद्ध को कसुरमा अदालतबाट म्याद थप गरि थप अनुसन्धान गरिने पनि प्रहरीले जनाएको छ।

लघुवित्तका ऋणीहरू संसद् भवन प्रवेश गरेको घटना छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। 

 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १६:३७
Weather Update