
काठमाडौं– मंगलबार बिहानैदेखि प्रहरीले सिंहदरबार र संघीय संसद् भवनको पर्खाल छेउ डोरी तानेको छ। पर्खालसँग जोडिएको फुटपाथ हिँड्न नपाउने गरी टाँगिएको डोरीको बीच–बीचमा कागज र ब्यानर पनि टाँगिएको छ। जसमा लेखिएको छ– निषेधित क्षेत्र!
सिंहदरबार र बानेश्वर क्षेत्रमा प्रहरीको तैनाथी पनि बाक्लो पारिएको छ। ठाउँ–ठाउँमा हतियार सहितका प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्। डोरी टाँगिएको ठाउँको फुटपाथमा प्रहरीले सर्वसाधारणलाई हिँड्न पनि दिएको छैन। दुर्घटनाको जोखिमका बीच सर्वसाधारण सडकमै हिँड्न बाध्य छन्।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापाले सोमबार संसद् भवनमा भएको घटनापछि ‘सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर’ सिंहदरबार र संसद् भवनको पर्खाल बाहिर डोरी टाँगिएको जानकारी दिए। ‘सोमबार संसद् भवनमा भएको घटनापछि सुरक्षा संवेदनशीलतालाई हेरेर सिंहदरबार र संसद् भवनको पर्खाल बाहिर निषेधित क्षेत्र तोकेर डोरी टाँगिएको हो,’ एआईजी थापाले न्यूजगृहसँग भने, ‘यो केही समयका लागि मात्रै हो। सुरक्षा व्यवस्थापनको दीर्घकालीन उपाय कार्यान्वयनमा आएपछि डोरी हटाउने काम हुन्छ।’
सोमबार दिउँसो ४९ जनाको एउटा समूह संघीय संसद् भवन परिसरमा छिरेर नाराबाजी गरेको थियो। लघुवित्त तथा विभिन्न वित्तीय संस्थाबाट विभिन्न समयमा ऋण लिएर ‘समस्यामा परेपछि’ ऋण मिनाहाको मागसहित काठमाडौं आएर आन्दोलन गरिरहेकाहरु सोमबार संसद् भवन छिरेका थिए। संसद् भवनमा छिरेर नाराबाजी गर्ने क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो। उनीहरु अहिले पनि प्रहरी हिरासतमा नै छन्।
कडा सुरक्षा घेरा तोडेर कसरी संसद् छिरे प्रदर्शनकारी?
संघीय संसद् भवनमा आन्तरिक सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीकै मर्यादापालक परिचालित हुन्छन्। बाह्य क्षेत्रको सुरक्षा व्यवस्थापनका लागि भने नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदल (एसटीएफ) परिचालित छ। यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बानेश्वरको टोली पनि संसद् भवनमा परिचालन गरिएको हुन्छ। आकस्मिक घटनाको तत्काल ‘रेस्पोन्स’ गर्न संसद् भवन बाहिर सधैंजसो सीआरभी टोली पनि परिचालित हुन्छ।
विभिन्न जिम्मेवारीका गरी झन्डै १५० भन्दा बढी प्रहरी (सुरक्षाकर्मी) परिचालित हुने संसद् भवनमा सोमबार दिउँसो भने अनपेक्षित घटना भयो। प्रतिनिधि सभाको बैठक सकिएर सांसदहरु बाहिरिरहेका बेला, दिउँसो करिब २ बजेतिर पश्चिम गेटबाट महिलाहरुको बाहुल्यता रहेको एउटा समूह एक्कासी संसद् भवन भित्र छिर्यो। उनीहरु संसद् भवनको आगन (पानीको फोहोरा भएको ठाउँ) सम्म पुगे र नाराबाजी गर्न थाले। नाराबाजी हुन थालेपछि मात्रै मर्यादापालकहरुले उनीहरुलाई नियन्त्रणमा लिएका थिए। त्यसपछि मात्रै एसटीएफसहित अन्य प्रहरी त्यहाँ पुगेर प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, एआईजी थापा सोमबार प्रदर्शनकारीहरु सुरक्षाकर्मीलाई झुक्याएर संसद् भवन छिरेको बताउँछन्। पछिल्लो समय सहकारी पीडित, मिटर ब्याज पीडित र लघुवित्त पीडितहरु काठमाडौंमा प्रदर्शन गर्न आएको विषयप्रति सजग भएर सुरक्षा व्यवस्था कडा पारिए पनि संसद् भवन छिर्ने सम्मको अवस्थाबारे भने पूर्व आकलन नगरिएको उनको भनाइ छ।
‘हामीले लुघुवित्त पीडितको आन्दोलनका नेतृत्वकर्तासँग नियमितजसो सम्पर्क गरिरहेका थियौं। उहाँहरुले सोमबार आफूहरु सिफल चौरमा मात्रै प्रदर्शन गर्ने भनेको थियो। हामीले त्यही हिसाबले सुरक्षा व्यवस्था पनि मिलाएका थियौं। तर अनपेक्षित रुपमा, झुक्याएर केही व्यक्ति संसद् भवन छिर्ने काम भयो,’ एआईजी थापाले न्यूजगृहसँग भने।
यद्यपि सोमबारको घटनामा सुरक्षा व्यवस्थापनको हिसाबले केही कमजोरी भएको देखिएको एआईजी थापाको भनाइ छ। ‘जे–जसरी भए पनि, जुन घटना भएको छ त्यसमा सुरक्षाका हिसाबले पनि केही कमजोरी भएको देखिन्छ। त्यसको छानबिनका लागि हामीले समिति बनाएका छौं। समितिले छानबिन गरिरहेको छ,’ एआईजी थापाले भने।
सोमबार प्रदर्शनकारीहरु संसद् भवन छिरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले साँझ नै सुरक्षा निकायका प्रमुखहरुलाई डाकेर घटनाबारे जानकारी लिएका थिए। गृहमन्त्रीको निर्देशनपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ। सोही समितिले घटनाबारे विस्तृत रुपमा अनुसन्धान गरिरहेको एआईजी थापाको भनाइ छ।
सोमबार संसद् छिर्ने प्रदर्शनकारीलाई काठमाडौं ल्याएको लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति, नेपालका अध्यक्ष मनिराम ज्ञवाली आफूहरु विगत २०–२५ महिनादेखि आफ्ना पीडाहरु सुनाउन आन्दोलनमा रहेको बताउँछन्। देशभरका करिब १ लाख ८० हजार लघुवित्त पीडितहरुको तर्फबाट विगत २० महिनादेखि काठमाडौं र अन्य शहरमा विरोध प्रदर्शनका कार्यक्रमहरु भइरहेको उनको भनाइ छ। तर सरकार र राजनीतिक दलहरुले आफूहरुका माग नसुनेपछि संसद् भवनमै छिर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ।
‘हामी शान्तिपूर्ण आन्दोलनमा छौं। सोमबार संसद् भनव छिरेर प्रदर्शन गर्ने कुरा आकस्मिक रुपमा भएको घटना होइन। यो विद्रोहकै एउटा रुप हो। हाम्रा पीडाहरुलाई राज्यले नजरअन्दाज गरेपछि सिर्जिना भएको परिस्थिति हो,’ न्यूजगृहसँग कुरा गर्दै ज्ञवालीले भने, ‘सोमबार जुन परिस्थिति सिर्जना भयो त्यसबाट राज्यले पाठ सिक्नुपर्छ। अब निषेध गर्ने होइन, पीडितका कुरा सुनेर, समस्या समाधान गर्नेतिर लाग्नुपर्छ।’
सुरक्षा व्यवस्थापनमा गम्भीर लापरबाही
नेपाल प्रहरीका १ जना पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) संघीय संसद् जस्तो सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्रमा प्रदर्शनकारी प्रवेशको विषयलाई सामान्य रुपमा लिन नहुने बताउँछन्। सुरक्षा व्यवस्थापनमा भएको गम्भीर लापरबाहीका कारण नै सोमबारको परिस्थिति सिर्जना भएको उनको भनाइ छ।
‘संसद भवनजस्तो ठाउँमा प्रदर्शनकारी प्रवेश गर्ने कुरा सामान्यतया कल्पना गरिने विषय नै होइन। तर यस्ता घटनाहरु बेला बेला भइरहन्छन्। त्यसैले यस्ता चुनौतीको सामाना गर्न सुरक्षा व्यवस्थापनमा चनाखो हुनुपर्छ,’ ती पूर्व एआईजी भन्छन्, ‘सोमबारको घटनाले सुरक्षा व्यवस्थापनमा भइरहेको हाम्रो लापरबाहीलाई पनि उजागर गरिदिएको छ। यसबाट पाठ सिकेर कमजोरी सच्याउनु जरुरी छ।’
प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल पनि सोमबारको घटनामा सुरक्षाकर्मीको लापरबाही देखिएको बताउँछन्। तर लापरबाही गरेको भनेर केही प्रहरीलाई कारबाही गरेर मात्रै यस्ता समस्याको समाधान नहुने उनको भनाइ छ।
‘लापरबाही भएको देखिन्छ। तर किन लापरबाही भयो भन्ने कुरामा पनि ध्यान दिन उत्तिकै जरुरी छ,’ पूर्व डीआईजी मल्ल भन्छन्, ‘सूचना संकलनको विषय पनि सँगै जोडिएर आउँछ। सूचना संकलनको कुरामा पनि कमजोरी देखिन्छ।’
पूर्व डीआईजी मल्ल सोमबारको घटना हुनुमा ३ वटा विषयलाई प्रमुख कारक मान्छन्। सुरक्षा व्यवस्थापनमा लापरबाही, सूचना संकलनमा कमजोरी र प्रहरी कर्मचारीको मनोबल कमजोर हुँदा सोमबारको घटना घटेको उनी बताउँछन्।
‘समग्रमा सुरक्षा व्यवस्थापनको विषयमा लापरबाही भएको देखिन्छ। तर त्यो लापरबाहीसँगै पूर्व सूचना संकलनको विषय पनि जोडिन्छ। यस्तो घटना हुँदैछ भनेर किन पहिल्यै जानकारी लिन सकिएन भन्ने प्रश्न त उठिहाल्छ,’ पूर्व डीआईजी मल्ल भन्छन्, ‘र अर्को प्रमुख कारण भनेको प्रहरीको मनोबल कमजोर हुनु पनि हो। किनभने भिड नियन्त्रणका लागि गैरघातक हतियार छैनन्। घातक हतियार प्रयोग गर्दा मानवीय क्षति हुन्छ र त्यस्तो हुँदा जागिर जान्छ भन्ने डर प्रहरी कर्मचारीमा छ। यसबारे सरकारले गम्भीर ध्यान दिनु जरुरी छ।’
धन्न गोली चलेन!
संघीय संसद् भवनको बाहिरी क्षेत्रको सुरक्षा व्यवस्थापनको जिम्मा लिएको एसटीएफ सुरक्षाका दृष्टिकोणले असमान्य मानिने चुनौतीहरुको सामना गर्न बनाइएको विशिष्टकृत युनिट हो। जसले आतङ्कवादी आक्रमण, दङ्गा, अपहरण एवं प्राकृतिक प्रकोप जस्ता असमान्य अवस्थामा कुशलतापूर्वक कारबाही गरी शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारी पाएको हुन्छ।
आफूले पाएको जिम्मेवारी पूरा गर्न कुनै चुनौती देखिए एसटीएफका सुरक्षाकर्मीले सिधै गोली प्रहार गर्न सक्छन्। एसटीएफको जिम्मेवारीका हिसाबले सोमबार भएको घटना पनि गम्भीर सुरक्षा चुनौती हो। तर एसटीएफका जवानहरुले गोली भने चलाएनन्।
‘सुरक्षा व्यवस्थापनमा चुनौती देखिए एसटीएफले सिधै गोली चलाउन सक्छ। तर हिजोको घटनामा धन्न गोली चलेन,’ नेपाल प्रहरीका पूर्व डीआईजी मल्ल भन्छन्, ‘संसद् भवन छिरेका प्रदर्शनकारीले उग्रता देखाएको भए गोली चल्न पनि सक्थ्यो। भाग्यवस गोली चलेन।’
एसटीएफको तालुकदार निकाय, प्रहरी प्रधान कार्यालयको कार्य विभागका १ जना वरिष्ठ अधिकारी सोमबारको घटनामा सुरक्षाकर्मीले संयमता अपनाएको दाबी गर्छन्। ‘प्रहरीसँग भएका सबैभन्दा आधुनिक हतियार नै एसटीएफसँग हुन्छन्। गम्भीर सुरक्षा चुनौती महसुस भएमा उनीहरुले आत्म निर्णय गरेर गोली चलाउन सक्छन्। तर सोमबारको घटनामा गोली चलेन। एसटीएफबाट संयमता अपनाइएको देखियो,’ ती अधिकारीले भने।