News Griha :: न्यूजगृह
सहकारी ठगीको अपराध: ढल्नै लागेको हो अर्थतन्त्रको तेस्रो खम्बा? 

काठमाडौं– काठमाडौं उपत्यकाको पुरानो मध्येको एक कान्तिपुर बचत तथा ऋण सहकारी संस्था अहिले समस्याग्रस्त बनेको छ। बचतकर्ताको करिब ६ अर्ब रकम हिनामिना गरी ठगी गरेको आरोपमा अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी पक्राउ परेका छन्। ठगी कसुरमा अनुसन्धानका लागि सहकारीका सञ्चालक र पदाधिकारीसहित अन्य ५ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। 

२०५३ सालदेखि सञ्चालनमा आएको कान्तिपुर सहकारीमा कुनैबेला १४ हजारसम्म बचत खाता खुलेका थिए। अहिले पनि झण्डै ७ हजारको संख्यामा सहकारीका बचतकर्ता थिए। तर सहकारीले नियम विपरीत विभिन्न निजी प्रतिष्ठानमा लगानी गरेर बचतकर्ताको रकम नै फिर्ता गर्न नसकिने स्थिति बन्यो। 

सहकारी विभाग स्रोतका अनुसार कान्तिपुर सहकारीले झन्डै ६ अर्ब २२ करोड रुपैयाँ ऋण लगानी गरेको छ। जसमध्ये धेरैजसो रकम सहकारीका सञ्चालकहरुले आफूखुसी रुपमा अस्पताल, विद्यालय, घरजग्गा र होटल तथा रेस्टुरेन्टहरुमा लगानी गरेको पाइएको छ। 

शिवशिखर बहुउद्देश्यीय सहकारी समस्याग्रस्त बन्नुमा पनि अध्यक्ष केदारनाथ शर्माको मनपरी नै मुख्य कारण थियो। उनले कानुन विपरीत सहकारी संस्थाको रकम व्यक्तिग व्यवसायमा लगाएका थिए। शिवशिखर सहकारीले देशभरका हजारौं बचतकर्ताको करिब ११ अर्ब रुपैयाँ ठगी गरेको पाइएको छ। 

बचतकर्ताको अर्बौं रकम हिनामिना गरेर फरार रहेका शिवशिखर सहकारीका अध्यक्षलाई प्रहरीले गत असारमा पक्राउ गरेको थियो। नेपालबाट भागेर भारत पुगेर बस्दै आएका उनलाई प्रहरीले भारतबाटै पक्राउ गरेको थियो। 

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त बन्नुमा पनि सञ्चालकहरुकै बदमासी प्रमुख कारण हो। सूर्यदर्शन सहकारीका अध्यक्ष जितेन्द्र बाबु राई (जीबी राई)ले बचतकर्ताको रकमलाई गैरकानुनी रुपमा ग्यालेक्सी फोरके टेलिभिजन खोल्नलाई लगानी गरेका थिए। 

जीबी राईको समूहले पोखरासहित चितवन र बुटवलका सहकारीको पैसा पनि गैरकानुनी रुपमा अन्यत्रै लगानी गरेको भेटिएको छ। जीबी राई अहिले फरार छन् भने सूर्यदर्शन सहकारीका केही सञ्चालकहरु पक्राउ परेर अहिले थुनामा छन्। उक्त सहकारी ठगीको मुद्दा अहिले अदालतमा विचाराधीन छ। 

ललितपुरको पुल्चोकमा प्रधान कार्यालय रहेको सुमेरु बचत तथा ऋण सहकारी संस्थाले केही समय अगाडि विज्ञप्ति जारी गरेर घरजग्गा लगायत व्यवसायमा लगानी फसेका कारण बचतकर्ताको निक्षेप फिर्ता गर्न नसकिएको बताएको थियो। सहकारीको सिद्धान्त विपरीत ऋण लगानी गर्दा उक्त सहकारी समस्यामा परेको थियो। उक्त सहकारीमा बचतकर्ताको १० अर्ब रुपैयाँ बचत फसेको बताइएको छ। 

पछिल्लो समय केही सहकारीहरुमा देखिएको समस्याले बचतकर्ताको अर्बौं रकम जोखिममा परेको छ। जसकारण अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा पहिचान गरिएको सहकारी अभियान नै तहनहस हुने जोखिम बढेको विज्ञहरुको चिन्ता छ। 

अर्थविद् गोविन्द नेपाल केही ठूला सहकारीहरुले गरेको बदमासीका कारण अहिले समग्र सहकारी क्षेत्र नै भताभुंग हुने अवस्थामा पुगेको बताउँछन्। सहकारी क्षेत्र भताभुंग हुँदा ग्रामिण अर्थतन्त्र नै तहसनहस हुने जोखिम बढेको उनको भनाइ छ। 

‘अहिले जति पनि समस्याग्रस्त सहकारी भनेर देखिएका छन्, ती सबै ठूला छन्। करोड, अर्बको कारोबार गर्ने सहकारीले बदमासी गरेका घटनाहरु बढी देखिन्छन्,’ न्युजगृहसँग कुरा गर्दै नेपालले भने, ‘यी ठूला सहकारीले गरेको बदमासीका कारण साना सहकारीहरु पनि समस्यामा परेका छन्। ग्रामिण अर्थतन्त्र चलायमान बनाउन भूमिका खेलेका साना सहकारी समस्यामा पर्दा ग्रामिण अर्थतन्त्र नै तहसनहस हुने जोखिम बढेको छ।’

अहिले सातै प्रदेशमा गरी ६७ वटा सहकारीविरुद्ध प्रहरीले ठगीको कसुरमा अनुसन्धान गरिरहेको छ। अनुसन्धानमा रहेकामध्ये १० करोड रुपैयाँभन्दा धेरै रकम ठगी गर्ने सहकारीको संख्या १९ छ। 

नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका महाप्रबन्धक रुद्र भट्टराई सहकारीमा देखिएको अहिलेको समस्याले स–साना पुँजी जुटाएर घरेलु उद्यम तथा कृषि क्षेत्रमा सक्रिय भएका सहकारीलाई केही हदसम्म असर पारेको बताउँछन्। देशव्यापी रुपमा नै सहकारीमा समस्या देखिँदा बचतकर्ताहरुमा त्यसको नराम्रो प्रभाव परेको उनको भनाइ छ।  

१० करोड बढी रकम ठगीको कसुरमा प्रहरीले कोशी प्रदेशका २ वटा सहकारीविरुद्ध अनुसन्धान गरिरहेको छ। कोशी बचत तथा ऋण सहकारी संस्थाले ४७ करोड ठगी गरेको भन्दै बचतकर्ताले उजुरी दिएका छन्। यस्तै, तुलसी बहुमुखी सहकारी संस्थाले १६ करोड ९३ लाख ५३ हजार रुपैयाँ ठगी गरेको उजुरी छ। कोशी प्रदेशमा समग्रमा ४ वटा सहकारी संस्थाले ६६ करोड ४० लाख ३४ हजार १९६ रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेको प्रहरीले जनाएको छ। 

मधेस प्रदेशमा ७ वटा सहकारी संस्थाले ठगी गरेको उजुरी प्राप्त भएको छ। ७ वटा सहकारीले १४ करोड ६२ लाख ७२ हजार ८७५ रुपैयाँ ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ।

बागमती प्रदेशमा २ वटा सहकारीले १० करोडभन्दा बढी ठगी गरेको भन्दै उजुरी परेको छ। सनराइज बचत तथा ऋण सहकारी संस्थाले ५४ करोड ८ लाख ८७ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ। यस्तै, गरुड बचत तथा ऋण सहकारी संस्थाले १४ करोड ९२ लाख २३ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ। बागमती प्रदेशमा समग्रमा (काठमाडौं उपत्यका र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो बाहेक) ८ वटा सहकारीविरुद्ध उजुरी परेका छन्। बागमती प्रदेशमा परेका उजुरीमा बचतकर्ताहरुले ७८ करोड ५५ लाख ९२ जहरा ८२० रुपैयाँ बराबर ठगी भएको दाबी गरेका छन्। 

गण्डकी प्रदेशमा ५ वटा सहकारीले १० करोडभन्दा बढी रकम ठगी गरेको उजुरी परेको छ। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ९८८ रुपैयाँ ठगी गरेको उजुरी परेको छ। उक्त सहकारीविरुद्धको मुद्दा अहिले अदालतमा विचाराधीन छ। पोखराकै बलिदानी बचत तथा ऋण सहकारी संस्थाले १० करोड ६९ लाख र मित्रमिलन सहकारीले ३१ करोड ७८ लाख २२ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ। यस्तै, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारीले २९ करोड ९८ लाख ५० हजार र कालिका बचत तथा ऋण सहकारी संस्थाले १० करोड ८ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको छ। 

लुम्बिनी प्रदेशमा शिवशिखर सहकारीले ५४ करोड ५० लाख रुपैयाँ ठगी गरेको उजुरी परेको छ। लुम्बिनी प्रदेशमा समग्रमा २ वटा सहकारीविरुद्ध उजुरी प्राप्त भएका छन्। ती उजुरीमा ६२ करोड ९७ लाख ६७ हजार ३२२ रुपैयाँ बराबर ठगी भएको दाबी गरिएको छ।

नेपाल प्रहरीको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा भने सहकारीले १० करोड बढी रकम ठगी गरेको उजुरी प्राप्त भएको छैन। कर्णालीमा एउटा सहकारीले १७ लाख २९ हजार ८२९ रुपैयाँ बराबर रकम ठगी गरेको दाबीसहित उजुरी परेको छ। 

सुदूरपश्चिम प्रदेशमा शिवशिखर बहुउद्देशीय सहकारीविरुद्ध विभिन्न जिल्लामा गरी ३ वटा उजुरी परेका छन्। ती उजुरीमा शिवशिखरले १ अर्ब ३१ करोड १५ लाख ६९ हजार रुपैयाँ ठगी गरेको दाबी गरिएको छ। सुदूरपश्चिम प्रदेशमा समग्रमा ४ वटा सहकारी संस्थाविरुद्ध ठगीको उजुरी दर्ता भएका छन्। सुदूरपश्चिम प्रदेशमा दर्ता भएका उजुरीमा सहकारी संस्थाले १ अर्ब ३१ करोड ३१ लाख २० हजार ७१८ रुपैयाँ बराबर रकम ठगी गरेको दाबी गरिएको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेकामध्ये ३ वटा सहकारीले १० करोड बढी रकम ठगी गरेको भन्दै उजुरी परेको छ। आर्जन बचत तथा ऋण सहकारी संस्थाले ११ करोड ५५ लाख ४३ हजार, साइ स्वागत बचत तथा ऋण सहकारी संस्थाले २२ करोड २१ लाख ३७ हजार रुपैयाँ र नेशनल डेभलपमेन्ट अपरेटिभ बचत तथा ऋण सहकारी संस्थाले ३३ करोड २२ लाख ५८ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ। 

पुस मसान्तसम्मको तथ्याङ्कअनुसार सीआईबीमा समग्रमा ८ वटा सहकारीविरुद्ध उजुरी परेका छन्। सीआईबीमा परेका अधिकांश उजुरी काठमाडौं उपत्यकाकै सहकारीका हुन्। सीआईबीमा परेका उजुरीमध्ये ६ वटा सहकारीले १ अर्ब २४ करोड ठगी गरेको पीडितहरुले उल्लेख गरेका छन्। २ वटा सहकारीले ठगी गरेको रकमबारे खुलेको छैन। 

काठमाडौं उपत्यकामा २५ वटा सहकारीविरुद्ध ठगीको उजुरी परेको छ। उपत्यकाका २५ वटा सहकारीले १ अर्ब ८२ करोड ५ लाख ३० हजार ८३३ रुपैयाँ ठगी गरेको दाबी उजुरीमा गरिएको छ। २५ वटामध्ये ७ वटा सहकारीले १० करोड बढी ठगी गरेका उजुरी छन्। 

काठमाडौं उपत्यकामा कार्यक्षेत्र रहेको प्रज्ञान बचत तथा ऋण सहकारी संस्थाले १० करोड २ लाख, उपलब्धि बहुउद्देश्यीय सहकारीले १९ करोड ५२ लाख, कान्ति भैरब सहकारीले २५ करोड २६ लाख, जगत जननि बचत तथा ऋण सहकारीले ११ करोड ९१ लाख रुपैयाँ ठगी गरेको उजुरीमा उल्लेख छ। यस्तै, ललितपुरको कृषि विकास बहुउद्देश्यीय सहकारीले ४५ करोड, कल्याण उपकार सेभिङ एण्ड कोअपरेटिभले १७ करोड ९३ लाख र शुभ समृद्धि बचत तथा ऋण सहकारीले १८ करोड ७६ लाख रुपैयाँ ठगी गरेको उजुरीमा उल्लेख छ। 

बढी ब्याजको प्रलोभनमा बचत नै गुम्ने डर
सहकारीबाट ठगिएको भन्दै विभिन्न निकायमा धाइरहेका अधिकांश पीडित बचतकर्ताहरुले आफूहरुलाई ठग्ने अधिकांश सहकारीले उच्च ब्याजदरको प्रलोभन देखाएको बताएका छन्। सहकारीबाट पीडित भएको भनेर विभिन्न निकायमा उजुरी दिएका तथा दिने तयारीमा रहेका करिब ५० जना पीडितसँग न्युजगृहले कुराकानी गरेको थियो। अधिकांश पीडितले उच्च ब्याजदर दिने भनेर आफूहरुलाई ‘लोभ्याएका’ सहकारीले अहिले आफूहरुलाई ठगेको बताए। 

ललितपुरको खुसीबुमा समेत कार्यक्षेत्र रहेको लालिगुराँस सहकारीबाट पीडित १ जना बचतकर्ताले सुरुमा आफू अर्कै सहकारीको बचतकर्ता रहे पनि लालिगुराँसले बढी ब्याज दिन थालेपछि आफूले उक्त सहकारीमा बचत गर्न थालेको बताए। सुरुमा घरमै, पसलमै आएर ब्याज भुक्तानी गर्ने गरेको सहकारीले अहिले भने आफ्नो झण्डै ८ लाख रुपैयाँ बचत हिनामिना गरेको ती बचतकर्ताले सुनाए। 

काठमाडौंको कान्तिपुर सहकारीका पीडित बचतकर्ताले पनि बढी ब्याजको प्रलोभनमा पर्दा आफूहरु अहिले ठगिएको सुनाए। ‘हामीलाई १७ प्रतिशतसम्म ब्याज दिने भने। जति धेरै बचत त्यति धेरै प्रतिशत ब्याज भन्ने कुरा पनि गरे। ठूलो, नाम चलेको सहकारी भनेर बचत गर्न थालियो,’ आफ्नो नाम उल्लेख नगर्ने सर्तमा ती पीडितले भने, ‘अहिले आएर त सहकारीमा पैसा छैन भन्छ। हामीले जम्मा गरेको पैसा चाहिँ कहाँ गयो त?’   

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल अहिले समस्याग्रस्त भएका अधिकांश सहकारीले बचतकर्तालाई गलत प्रलोभनमा पारखेको देखिएको बताउँछन्। यस्ता सहकारीहरु विषयगत संघलगायत कतै पनि नजोडिएको र बचतकर्तालाई गलत तरिकाले प्रभावमा पारेर ठगी गरेको देखिएको उनी बताउँछन्। 

‘हामीसँग पनि धेरै पीडितले कुरा गर्दा १७–१८ प्रतिशत ब्याज दिने भनेर बचत उठाएको कुरा गरेका छन्। यस्ता सहकारीहरुले सहकारीको कुनै पनि सिद्धान्त पालना गरेनन्। बचतकर्ताबाट पैसा मात्रै उठाए। फिर्ता गरेनन्। बचतकर्ताको पैसा आफूखुसी गैरकानुनी तरिकाले लगानी गरे,’ अध्यक्ष ढकाल भन्छन्, ‘ठूल्–ठूला व्यवसायी, घरानाले पनि आफ्नो व्यवसाय विस्तारका लागि सहकारी खोले। पैसा उठाएर। अहिले त्यस्ताहरुमा समस्या देखिएको छ।’

नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका महाप्रबन्धक रुद्र भट्टराई बचतकर्ताहरुमा सहकारीसम्बन्धी शिक्षा र चेतानको कमीका कारण अहिले सहकारीहरुमा समस्या देखिएको बताउँछन्। ‘उच्च ब्याजको प्रलोभनमा पर्नु नै बचतकर्ताहरुमा सहकारीसम्बन्धी चेतना र शिक्षाको कमी हुनु हो। जो पनि आएको छ, सहकारी खोलेको छ। उच्च ब्याज दिने प्रलोभन देखाउँछ, अनि आफ्नो पैसा लगेर उसलाई दिइदिने, उपभोक्ताको यस्तो प्रवृतिका कारण पनि अहिले समस्या देखिएको हो।’

सहकारी क्षेत्रलाई ‘समस्या’बाट मुक्त गराउन बचतकर्ता नै बढी जिम्मेवार र चनाखो हुनुपर्ने उनको भनाइ छ। ‘आफू सदस्य वा बचतकर्ता रहेको सहकारी कस्तो हो। कस्ता मानिसहरुले खोलेका हुन्। यसको आर्थिक स्थिति कस्तो छ भनेर उपभोक्ताले जान्नु, बुझ्नु पर्छ,’ भट्टराई भन्छन्, ‘सरकार र सरोकारवाला अन्य निकायले पनि बचतकर्ताहरुलाई सहकारीसम्बन्धी शिक्षा दिनुपर्छ।’

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष ढकाल सहकारीमा अहिले देखिएको समस्या समाधान गर्न र उपभोक्ताको निक्षेप फिर्ता पाउने अवस्था बनाउन सहकारीहरुले गरेको ऋण लगानी उठाउने वातावरण सिर्जना गर्नुपर्ने बताउँछन्। सहकारीहरुले गरेको ऋण लगानी नउठेसम्म बचतकर्ताले निक्षेप फिर्ता पाउने अवस्था नबन्ने उनको भनाइ छ। 

‘सहकारीहरुले लगानी गरेको ऋण असुली गराउने प्रक्रियामा सहजीकरण गरिदिनुपर्छ। सरकारका अंगहरुले त्यसमा विशेष भूमिका निर्वाह गर्नुपर्छ,’  अध्यक्ष ढकाल भन्छन्, ‘नेपालमा सहकारीको इतिहास लामो छ। सहकारीको अभियान बिग्रियो भन्न मिल्दैन। सहकारी समस्या मात्र होइन, निकास पनि हो भन्ने बुझाइ विकास गर्‍यो भने अहिलेको समस्या पनि समाधान हुँदै जान्छ।’  

अध्यक्ष ढकालका अनुसार अहिले देखिएको समस्यालाई सहकारी अभियानका लागि नयाँ अवसरमा बदल्न सकिने बताउँछन्। अहिलेको समस्याले बचतकर्ताहरुलाई सजग बनाएको र अब सही रुपमा सहकारी शिक्षा र चेतना बढाउन सके सहकारी अभियान अझै बलियो बन्ने उनको भनाइ छ। ‘अहिले देखिएको समस्याबाट बचतकर्ताहरु सजग बनेका छन्। यो समयमा बचतकर्ता र आम नागरिकमा सहकारी अभियानको वास्तविक उद्देश्य र सिद्धान्तबारे चेतान दिन सक्नुपर्छ, सहकारी अभियान झन् बलियो बन्न सक्छ,’ उनी भन्छन्। 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ०८:४५
Weather Update