News Griha :: न्यूजगृह
२९ वर्ष अगाडि ट्र्याक खुलेको सडकमा बल्ल सुरु भयो कालोपत्र

दमौली– गण्डकी प्रदेशको गौरव आयोजनाको सडक कालोपत्र सुरु भएको छ। तनहुँको मानपुर–डेडगाउँ–बुलिङटार सडकमा ट्र्याक खुलेको २९ वर्षपछि कालोपत्र सुरु भएको हो। 

मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्र थालिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ। 

अस्फाल्ट प्रविधिबाट तनहुँ खण्डमा कालोपत्र सुरु गरेको कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए। उनका अनुसार सडक स्तरोन्नतिका लागि सोमबारदेखि फागुन २२ गतेसम्म उक्त सडक बन्द गरिएको छ।

२०५१ सालमा ट्र्याक खुलेको उक्त मार्गमा कालोपत्र हुने भएपछि स्थानीयवासी खुसी भएका छन्। उक्त खण्ड स्तरोन्नतिका लागि २०७७ मङ्सिर ५ गतेदेखि काम सुरु भएको थियो। भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् २२ करोड ८५ लाख ४१ हजार ७९३ रुपैयाँको लागतमा कालोपत्र सुरु गरिएको आचार्यले बताए। ३५ करोड १४ लाख ७४ हजार १०९ रुपैयाँ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले १२ करोड २९ लाख ३२ हजार ३१६ रुपैयाँमा कालोपत्रको ठेक्का पाएको थियो। 

सडक कालोपत्रको सम्झौता २०७६ फागुन ७ गते भएको थियो। ठेक्का भएलगत्तै नेपालमा कोरोनाको महामारी सुरु भएको र लकडाउनका कारण काम सुरु हुन नसकेको निर्माण कम्पनीले जनाएको छ। 

तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरबाट सुरु भएर डेढगाउँको सिमानासम्मको एघार किलोमिटर खण्डमा सडक कालोपत्र हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ।  उक्त सडकको चौडाई सात मिटर रहनेछ। सडकमा ५ मिटरको कालोपत्र हुनेछ भने १ मिटरको नाला निर्माण हुनेछ। 

घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले कालोपत्र सम्पन्न भएपछि यस क्षेत्रकै समृद्धिको ढोका खुल्ने बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १८:४८
Weather Update