News Griha :: न्यूजगृह
झिनो अङ्कले घट्यो नेप्से, ३ अर्बको कारोबार

काठमाडौं– शेयर बजार परिसूचक नेप्से मंगलबार झिनो अङ्कले घटेको छ। साताको दोस्रो कारोबारको दिन आज नेप्से १.७६ अङ्कले घटेर २०३३.०६ विन्दुमा कायम भएको हो। 

सोमबार सार्वजनिक बिदा परेकाले शेयर कारोबार भएको थिएन। मंगलबार सेन्सेटिभ इण्डेक्स ०.२४ प्रतिशतले घटेर ३६४.३२ विन्दुमा झरेको छ। १३ उपसमूहमध्ये पाँच उपसमूहको सूचक मात्र बढेका छन्। विकास बैंक, फाइनान्स, इन्भेस्टमेन्ट, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहबाहेक अरु उपसमूहको सूचक नकारात्मक देखिएका हुन्। सामान्य अंकले घटेको बजारमा दुईवटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबारमा आएका कम्पनीमध्ये ९० वटाको शेयर मूल्य बढ्दा १ सय ५० को घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो। बोटलर्स नेपाल बालाजु र समाज लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले वृद्धि भएको हो। 

३ सय १४ कम्पनीको ९३ लाख ४२ हजार ५ सय ४६ कित्ता शेयर ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँमा खरिदबिक्री भएको छ। सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स र साना किसान लघुवित्त छन्। हिमालयन रिइन्स्योरेन्स को ३१ करोड ७३ लाख र साना किसान लघुवित्तको १२ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ। तेस्रोमा रहेको जोशी हाइड्रोपावरको ८ करोडको शेयर किनबेच भएको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १६:३२
Weather Update