News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
औषधि उत्पादनमा नेपालको प्रगति राम्रो– सभामुख घिमिरे

काठमाडौं– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालले औषधि उत्पादनमा प्रगति गर्दै गएको बताएका छन्। 

औषधि उद्योग ओम मेगाश्री फर्मास्युटिकल्सको औपचारिक शुभारम्भ गर्दै सभामुख घिमिरेले औषधि उत्पादन क्षेत्रमा पछिल्लो डेढ दशकयता नेपालमा राम्रो प्रगति भएको बताए। नेपालजस्तो मुलुकमा औषधि उत्पादन तथा बजार व्यवस्थापन विकसित मुलुकको तुलनामा निकै पछाडि रहेको उल्लेख गरे। 

घिमिरेले भने, ‘धेरै क्षेत्रमा शतप्रतिशत आयातमा भर पर्नुपर्ने अवस्थाका बीच पनि कुल मागको झण्डै ५० प्रतिशत स्वदेशी उद्योगको उत्पादनले धानिरहेको अवस्था छ। यो अवस्था सुखद छ, तर अझै सुधार गर्नुपर्ने आवश्यकता देखेको छु।’ 

Prabhu Bank

दुई साताअघि मात्रै प्रतिनिधि सभाबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित भएको बताउँदै उनले विधेयकका कतिपय दफा व्यवसाय प्रबद्र्धनसँग पनि सम्बन्धित रहेको बताए। 

उनले भने, ‘आशा छ, विधेयकले व्यावसायिक लगानीको वातावरण बनाउन र प्रवद्र्धन गर्न सहयोगी हुने विश्वास लिएको छु । मुलुकमा व्यासायिक र लगानीमैत्री वातावरण बनाउन विधेयकले सहयोग गर्ने नै छ । लगानीमैत्री कानून बनाउन संसदले सकारात्मक भूमिका खेल्ने जानकारी गराउँदछु।’

कार्यक्रममा पूर्वस्वास्थ्य मन्त्री पदम गिरी र गण्डकी प्रदेशका पूर्वआर्थिक मामिला मन्त्री किरण गुरुङले स्वदेशी औषधिलाई प्रवद्र्धन गर्न नीतिगत व्यवस्था नै लगानीमैत्री हुनुपर्नेमा जोड दिए। उनीहरुले औषधिमा भएको लगानी खेर जान नदिन आयातमा भएको खुलापनमा पुनर्विचार गर्नुपर्ने बताए।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले गुणस्तरीय स्वदेशी औषधि उद्योगको भविष्य राम्रो रहेको बताए। 

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने औषधिमा आम समुदायको चासो र लगानी प्रवद्र्धनमा अग्रणी भूमिका निर्वाह गर्दै गुणस्तरीय औषधिमा जनताको प्रत्यक्ष पहुँच स्थापित गर्न तथा निर्यातको ठोस कार्ययोजनासहित अगाडि बढ्नुलाई प्रमुख दायित्व ठानेको बताए।

झण्डै सवा अर्ब लगानीमा सञ्चालनमा आएको औषधि उद्योग ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड चितवनको जुगेडीमा छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ११:२७
Weather Update