News Griha :: न्यूजगृह
भरतपुर विमानस्थल बिस्तारका लागि भोलिदेखि सर्भे

चितवन– भरतपुर विमानस्थलको बिस्तारको प्रकृया अघि बढ्ने भएको छ।  विमानस्थलमा रहेको नेपाली सेनाको घोडा प्रजनन केन्द्र शक्तिखोरमा स्थानान्तरण गरेर धावनमार्ग बिस्तार गर्न लागिएको हो।

विस्तारका लागि सर्भे गरी डिजाइनका साथै डिजाइन अनुरूप ओएलएस (अप्सट्रेकल लिमिटेशन सर्भे) गरिने छ । सर्भेको काम सोमबारबाट सुरु गरिने भएको हो । गत शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बैठक बसेर सोमबारबाट काम सुरु गर्ने सहमति भए अनुरूप काम सुरु हुन लागेको हो।

भरतपुर विमानस्थलका प्रमुख दीपक बिकका अनुसार आज नै प्राविधिकहरूको टोली चितवन आइपुग्दै छ। उनले भने, ‘सोमबारदेखि काम अघि बढाउँदै छौ। एक हप्ताभित्र सर्भेको काम सम्पन्न हुनेछ।’ नगर प्रमुख दाहालको अध्यक्षतामा बसेको बैठकमा महानगरका उपप्रमुख चित्रसेन अधिकारी, नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी सहितको उपस्थिति थियो। बैठकले विमानस्थल विस्तार र घोडा प्रजनन केन्द्र शक्तिखोरमा स्थानान्तरण एक साथ अगाडि बढाउने सहमति गरेको हो।

सर्भेको नतिजा आएपछि डिजाइनअनुसार बजेट सुनिश्चित गरेर विस्तारको काम अघि बढाइने छ। यस्तै समग्र विमानस्थल विस्तार सहजिकरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना र महानगरपालिकाको प्रतिनिधि सम्मिलित सहजीकरण समिति गठन गर्ने सहमति भएको छ। गत माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सैनिक संरचना हटाएर भरतपुर विमानस्थल विस्तार गर्ने निर्णय गरेको थियो। संरचना सार्दा हुने खर्च नागरिक उड्डयन प्राधिकरणले बेहोर्ने छ। 

विमानस्थलसँगै नेपाली सेनाको घोडा प्रजनन केन्द्र लगायत संरचना छन् । कूल ५८ बिघा क्षेत्रफलमा विमानस्थल विस्तारका लागि १९ बिघा जमिन आवश्यक पर्छ। अहिले एक हजार दुई सय मिटरको धावनमार्ग रहेको विमानस्थलमा उत्तर–पश्चिमतर्फ चार सय १२ मिटर बिस्तार गर्ने योजना छ। यसअनुसार विमानस्थलको धावनमार्ग कम्तीमा एक हजार पाँच सय मिटरको बनाउनुपर्नेछ। ठूला जहाजसमेत चल्ने गरी विमानस्थल बिस्तार हुनेछ। हाल विमानस्थलको धावनमार्गको लम्बाइ कम भएकाले ठूला जहाज उडान–अवतरण गर्न सक्दैनन्। विमानस्थल विस्तार भएपछि यहाँबाट रात्रिकालीन उडान, ठूलो क्षमताका जहाज, धेरै वटा उडान सुरु हुने र हवाई इन्धनको पनि सेवा उपलब्ध हुने हुनेछ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १४:२४
Weather Update