News Griha :: न्यूजगृह
भौतिकमन्त्री ज्वालालाई बर्खास्त गर्न एमाले र रास्वपाको माग

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमाले र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पदमुक्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समयमा एमाले सचेतक महेश बर्तौला र रास्वपा सभापति रवि लामिछानेले सरकारी छानबिन समितिले नै दोषी देखाएका मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गरेका हुन्। पुस १३ गते बालकुमारीमा कोरियन भाषा परीक्षा दिने युवाहरू र प्रहरीबीच झडप हुँदा दुई युवाको मृत्यु भएको थियो।

बर्तौलाले उक्त घटनामा मन्त्री ज्वालालाई दोषी देखाएको भन्दै तत्काल बर्खास्त गर्न माग गरेका हुन्। सरकारका मन्त्रीको संलग्नता र उपस्थितका कारण घटना भएको भन्ने प्रतिवेदन सरकारी टोलीले नै देखाएको भन्दै बर्तौलाले फागुन ४ मा बुझाइएको प्रतिवेदनअनुसार बालकुमारी घटनाका दोषी मन्त्रीलाई बर्खास्त गर्न माग गरिएको हो।

वीरेन्द्र शाह र सुजन राउतको उक्त घटनामा मृत्यु भएको थियो । 'प्रतिवेदनको निष्कर्ष निस्कियो, भौतिक मन्त्रीको लापरबाहीका कारणले गर्दा दुई जनाको मृत्यु भयो र करोडौँको सम्पत्ति क्षति भयो । सरकारका मन्त्री दोषी भनेको ३० घण्टा बितिसक्दासमेत मन्त्री पदमा बहाल हुनुहुन्छ,' बर्तौलाले भने, 'सिपाहीलाई डन्डा मन्त्रीलाई झन्डा ? सम्बन्धित मन्त्रीलाई पदमुक्त गरियोस् । घटनामा जोडिएका सम्बन्धित मन्त्रीलाई जिम्मेवारीबाट हटाइयोस्, बर्खास्त गरियोस् ।'

रास्वपाका सभापति रवि लामिछानेले पनि उक्त घटनामा दोषी भनिएका मन्त्री ज्वालालाई कारबाही गर्न माग गरेका छन् । प्रमाण हुँदा पनि कारबाही नगर्दा सुशासन नरहेको उनको भनाइ थियो । उनले दुई युवाको मृत्यु भएको घटनामा प्रतिवेदनले दोषी देखाएका मन्त्रीलाई के गर्ने भन्ने जवाफ दिनुपर्ने माग गरेका हुन् ।

 

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १२:१२
Weather Update