News Griha :: न्यूजगृह
बालकुमारी घटनाको नैतिक जिम्मेवारी मन्त्री ज्वालाले लिनुपर्ने जाँचबुझ आयोगको निष्कर्ष
फाइल तस्बिर ।

काठमाडौं– ललितपुरको बालकुमारीमा भएको घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहित तीनजना दोषी भएको निष्कर्षसहितको प्रतिवेदन जाँचबुझ आयोगले सरकारलाई बुझाएको छ ।

आयोगले शुकबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मन्त्री ज्वाला प्रदर्शन भइरहेको ठाउँमा पुग्दा मानवीय क्षतिको घटना भएको उल्लेख छ ।

आयोगले हुलहुज्जत भइहेको गलत ठाउँमा सुरक्षा व्यवस्थाको संवेदनशीलताको ख्याल नगरी मन्त्री पुग्नु कमजोरी रहेको जनाएको छ ।मन्त्री ज्वालालाई कारबाहीका लागि समेत आयोगले प्रधानमन्त्रीलाई सिफारिस गरेको छ । घटनाको नैतिक जिम्मेवारी लिन र मन्त्री ज्वालालाई सचेत गराउन समेत प्रतिवेदनमा सिफारिस गरिएको छ ।

यस्तै, बालकुमारीमा घटना हुँदा फिल्ड कमान्डरको जिम्मेवारीमा रहेका नेपाल प्रहरीका डीएसपी उमेश लम्साल र मन्त्री ज्वालाका पीएसओ सई बोधराज दनुवार पनि दोषी भएको छानबिन आयोगले जनाएको छ ।

पीएसओ दनुवारले सुरक्षा नजरअन्दाज गरेर गलत ठाउँमा मन्त्रीलाई पुर्याएको र डीएसपी लम्सालले सुरक्षा मिलाउन नसकेर बल प्रयोग गरेको आयोगको निष्कर्ष छ ।

गएको पुस १३ गते कोरियन भाषा परीक्षा ईपीएसको परीक्षामा सहभागि गराउन माग गर्दै भएको प्रदर्शनमा प्रहरी गोली लागेर दुई जनाको मृत्यु भएको थियो । 

उक्त घटनाको छानबिन गर्न मन्त्रिपरिषद् बैठकले पुस १६ गते उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १०:१८
Weather Update