पेट्रोल र डिजेलमा बढेको मूल्य आजदेखि लागू
काठमाडौं– नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू भएको छ।
बिहीबारको निगम सञ्चालक समितिको बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको थियो।
आजदेखि पेट्रोल, डिजेल र मट्टितेलको खरिद प्रतिलिटर दुई रुपैयाँ महँगो भएको छ। हवाइ इन्धनको मूल्य भने यथावत राखिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए।
निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः रु १६९.५०, १७१ र १७२ तथा डिजेल/मट्टितेल क्रमशः १५७.५०, १५९ र १६० तोकेको छ ।
इण्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८३ पैसा र डिजेल १ रुपैयाँ ५६ पैसा बढेर आएको निगमले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८० ०७:४४