काठमाडौं— साताको अन्तिम कारोबार दिन शेयर बजार १४.४६ अङ्कले घटेर २०६२.०३ विन्दुमा कायम रह्यो । आज कारोबार भएकामध्ये १६३ कम्पनीको शेयर मूल्य घटेको छ।
उत्पादनमूलकबाहेक १२ उपसमूहले सूचक घटाएका छन्। विकास बैंक, वाणिज्य बैंक, निर्जीवन बीमा, फाइनान्सलगायत उपसमूह घटेका छन्।
घटेको बजारमा पनि दुई कम्पनीको शेयर मूल्य भने बढ्दै सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको शेयर मूल्य बढेको हो । बोटलर्सको शेयर प्रति कित्ता ९ हजार ३ सय ११ रुपैयाँ ८० पैसा पुगेको छ । यस्तै समाज लघुवित्त वित्तीय संस्थाको प्रति कित्ता १ हजार ४ सय ८६ रुपैयाँ ६० पैसा पुगेको हो।
आज १ करोड १४ लाख ७ हजार २६४ कित्ता शेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७ सय ४१ रुपैयाँ छ । कारोबार भएकामध्ये ७ कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो।
आज ७९ वटा कम्पनीको शेयर मूल्य भने बढेको छ । बिहीबार सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । उक्त कम्पनीको २२ करोड ८५ लाखको शेयर कारोबार भएको छ । अन्तिम कारोबारमा शेयर मूल्य प्रति कित्ता ६ सय ५५ रुपैयाँ ७० पैसा रह्यो । धेरै कारोबार हुनेमा दोस्रो सगरमाथा जलविद्युत कम्पनी छ। सगरमाथाको ११ करोड ५९ लाखको कारोबार भएको छ। त्यसपछि जोशी हाइड्रोपावरको १० करोड ७५ लाख र एनआईसी एसिया बैंकको ८ करोड ७० लाखको शेयर कारोबार भएको छ।
सर्वाधिक घट्नेमा मैलुङखोला जलविद्युत, प्रोग्रेसिभ फाइनान्स, महुली लघुवित्त, रिभर फल्स पावर, हिमालयन पावर पार्टनर लगायत रहे।