काठमाडौं— ग्लोबल आईएमई बैंक लिमिटेडले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी निश्चिन्त आवास योजना (घर कर्जा) सार्वजनिक गरेको हो ।
साथै, उक्त विशेष घर कर्जा योजनाअन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेकाहरूले पनि सहज रुपमा कर्जा सार्न सक्ने बैंकले जनाएको छ । यस योजनाअन्तर्गत सेवाग्राहीले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत ब्याजदरमा, १० देखि १५ वर्षसम्मको लागि १०.४९ प्रतिशत र १५ वर्षभन्दा बढी अवधिका लागि १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म घर कर्जा लिन पाउनेछन् ।
बैंकले ग्राहकलाई छिटो, छरितो एवं सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रही आवश्यक कागजातहरू पेस गरेको २ कार्य दिन भित्र कर्जा प्रवाह गर्नेछ । ग्राहकहरूले देशैभरका ७७ वटै जिल्लामा फैलिएको बैंकका ३५६ वटा शाखाहरूबाट यो सुविधा उपभोग गर्न सक्नेछन् । यो योजना सीमित अवधिका लागि रहने बैंकले जनाएको छ ।
ग्लोबल आईएमई बैंक मुलुकका ७७ रै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५६ शाखा कार्यालय, ३७८ एटीएम, २७४ शाखारहित बैङ्किङ सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।